२९ बैशाख २०८१, शनिबार

मनोनयन दर्ता गराएका आठ जनाविरुद्ध मकवानपुरमा उजुरी

election

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गराएका आठ जनाविरुद्ध उजुरी परेको छ ।

जिल्लाको १० स्थानीय तहमध्ये बकैया गाउँपालिकामा तीन जना, हेटौँडा उपमहानगरपालिकामा र मनहरी गाउँपालिकामा दुई/दुई जना र बागमती गाउँपालिकामा एक जना उम्मेदवारविरुद्ध उजुरी परेको हो ।

बकैंया गाउँपालिका निर्वाचन अधिकृत आनन्दराज पोखरेलका अनुसार नेपाली काँग्रेसका उपाध्यक्ष छाँया अधिकारी, नेकपा माओवादीका उपाध्यक्ष भक्त खत्री र नेपाली कांग्रेस वडा नम्बर ५ का लक्ष्मी जिम्बाविरुद्ध उजुरी परेको छ । उहाँहरू विरुद्ध के विषयमा उजुरी परेको भन्नेबारे निर्वाचन अधिकृत पोखरेलले खुलाउनु भएन ।

त्यस्तै हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्षका उम्मेदवार नवीन सिग्देल र १९ नम्बर वडाका नरनाथ सुवेदीविरुद्ध उजुरी परेको निर्वाचन अधिकृत कार्यालय हेटौँडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिनुभयो । सिग्देलविरुद्ध अवैधानिक उपभोक्ता समिति गठन गरी राज्यकोषको पैसा हिनामिना गरेको र सुबेदीविरुद्ध कर छली गरेको उजुरी परेको शर्माले बताउनुभयो ।

त्यस्तै मनहरी गाउँपालिकामा नेकपा एकिकृत समाजवादीकी उपाध्यक्ष उम्मेदवार मनिला विष्टविरुद्ध बेरुजुसम्बन्धी र नेपाली काँग्रेसका ३ नम्बर वडाका वडाध्यक्षका उम्मेदवार आन्नत प्रसाद अर्यालविरुद्ध राजीनामा नदिएको भन्दै उजुरी परेको मनहरिका निर्वाचन अधिकृत पूर्ण बहादुर दर्जीले जानकारी दिनुभयो ।

यसैगरी बागमती गाउँपालिकामा नेपाली काँग्रेसका उपाध्यक्षका उम्मेदवारविरुद्ध उजुरी परेको गाउँपालिकाका निर्वाचन अधिकृत हरि प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

उजुरी परेका उम्मेदवारहरुसंग स्पष्टीकरण लिने र उजुरीमाथि छानबिन भइरहेको सम्बन्धित गाउँपालिकाका निर्वाचन अधिकृतहरूले बताउनुभएको छ । आरोप पुष्टि भएको खण्डमा उम्मेदवारको उम्मेदवारी खारेज हुनसक्ने निर्वाचन अधिकृतहरूको भनाई छ ।