१७ बैशाख २०८१, सोमबार

सुुटुक्क चितवन आएर फर्किए प्रचण्ड

prachanda 2
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेस नेता तथा कार्यकर्ता फकाउन सुुटुक्क चितवन आएर काठमाडौँ फर्किएका छन् ।

भरतपुर महानगरको मेयरमा सत्ता गठबन्धनबाट छोरी रेनुले उम्मेदवारी दर्ता गराएकै भोलिपल्ट आज बिहान प्रचण्ड चितवन आएका हुन् । आज बिहान चितवन आएका उनी नेता तथा कार्यकर्ता भेटेर सुटुक्क फर्किएका छन् । उनले भरतपुर महानगरपालिका–१० मा रहेको रेनु दाहाल निवासमा कांग्रेस र माओवादी नेताहरुसँग छलफल गरेका छन् ।

चितवनमा असन्तुष्ट कांग्रेसका तर्फबाट पूर्वसांसद जगन्नाथ पौडेलले मेयरमा बागी उम्मेदवारी दिएपछि रेनुको भोट घट्ने आकलन सत्ता गठबन्धनको छ । हिजो सोमबार गरिएको मनोनयन दर्तामा पनि ठूलो संख्यामा कांग्रेस नेता तथा कार्यकर्ता बागी उम्मेदवारको पक्षमा लागेका थिए ।

नेपाली कांग्रेसका तर्फबाट भरतपुर महानगरमा मेयरका बागी उम्मेदवार जगन्नाथ पौडेलले प्रचण्डसँग आज प्रत्यक्ष भेटघाट नभएको बताए । उनले भने,‘ सत्ता गठबन्धनका नेताहरुसँग कुराकानी भने भइरहेको छ तर मैले उम्मेदवारी फिर्ता लिन्न । प्रचण्डसँग भने भेटेको छैन ।’ चितवनका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले प्रचण्ड चितवन आएर केहीबेर बसी फर्किएको नारायणी अनलाइनलाई जानकारी दिए ।