१६ बैशाख २०८१, आईतवार

राजमो र जसपा पाँच दलीय गठबन्धनबाट बाहिरियो चितवनमा

gath 1

स्थानीय निर्वाचनको उम्मेदवारी मनोनयन सकिएसँगै चितवनमा चुनावी गठबन्धनबाट राष्ट्रिय जनमोर्चा र जना समाजवादी पार्टी (जसपा) बाहिरिएका छन् ।

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा गठबन्धनको मर्म बिपरित उपेक्षा गरिएको भन्दै चुनावी गठबन्धनबाट बाहिरिएको घोषणा गरेका हुन् ।

राष्ट्रिय जनमोर्चाले हिजो (सोमबार) दिउँसो नै एक विज्ञप्ति निकालेर गठबन्धनबाट बाहिरिएको घोषणा गरेको थियो । ‘वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा केन्द्रीय तहदेखि नै गठबन्धन गरी जाने पार्टीको नीति हुँदाहुँदै पनि चितवनमा हाम्रो पार्टीलाई गठबन्धनको मर्म विपरित उपेक्षा गरिएकाले एकलरुपमा उम्मेदवारी दिएका छौँ’, राष्ट्रिय जनमोर्चाका अध्यक्ष डम्बर पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रिय जनमोर्चाले चितवनका विभिन्न पालिका तथा वडा तहमा आफ्ना उम्मेदवार उठाएको अध्यक्ष पुरीले जानकारी दिए । ‘सत्ता साझेदार गठबन्धनबीच मिलेर जाने भन्ने थियो । हामीलाई गठबन्धनको मर्म विपरित उपेक्षा गरियो’, उनले भने , ‘संघीयता विरुद्ध सशक्त आवाज उठाउँदै हामी सबै पालिकामा एकल रुपमा उम्मेदवार दिने गरी अगाडि बढेका छौँ ।’ पुरीले स्थानीय स्वायत्त शासनलाई बलियो बनाउने गरी अगाडि बढ्ने समेत बताए । उनले राजमोको गिलास चिन्हमा समेत मतदान गरिदिन आह्वान गरेका छन् ।

राष्ट्रिय जनमोर्चाले ९८ वडा मध्ये एक वडामा वडाध्यक्ष पाउनुपर्ने माग गरेको थियो । तर, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले मात्र वडा बाँडफाड गरेका छन् । चितवनमा कांग्रेस ५८, माओवादी २६ र समाजवादीलाई १३ वडा राख्ने गरी भागबण्डा गरेका थिए । वडाध्यक्षमा राजमो र जसपालाई उनीहरुले समावेश गरेका थिएनन् ।

जसपाले नेपाली कांग्रेस, नेकपा (माओवादी) र नेकपा (एकीकृत समावजादी) दल गठबन्धनको भावना र मर्म विपरित गएकाले गठबन्धनबाट बाहिरिएको घोषणा गरेको छ । जसपा भरतपुरका अध्यक्ष अनुज जोशीले आज(मंगलबार) एक विज्ञप्ति जारी गर्दै बाहिरिएको घोषणा गरेका हुन् ।

गठबन्धनको राजनीतिक महत्व, हैसियत, मर्म र भावना विपरित वडाध्यक्षमा बाँडफाड गरेको जसपाले अरोप लगाएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी)ले जसपालाई गठबन्धनको बैठकमा नबोलाइएको सबै वडामा अध्यक्षसहित सदस्यहरुमा एकलौटी रुपमा बाँडफाँड गरिएकाले गठबन्धनबाट बाहिरिएको जोशीले विज्ञप्तिमा उल्लेख गरेका छन् । जसपाले हिजो भरतपुरका विभिन्न वडामा आफ्ना उम्मेदवारको मनोनयन दर्ता समेत गराएको छ । वडाध्यक्षसहित सदस्यहरुमा मनोनयन दर्ता गरेका आफ्ना उमेदवारहरुलाई मित्रवत प्रतिस्पर्धा मार्फत जिताउन जोशीले विज्ञप्ति मार्फत अनुरोध गरेका छन् ।

वडा तहमा भएको भागबण्डामा एकीकृत समाजवादीले पनि असहमति जनाउँदै आएको छ । उसले भरतपुरका २२ वटा वडामा उम्मेदवारी समेत दिएको छ । तर, वडाका सदस्यमा समावेश गर्ने गरी गृहकार्य भएको नेपाली कांग्रेसले जानकारी दिएको छ ।

    सम्बन्धित समाचार...