
जनता समाजवादी पार्टी, नेपालले आफ्नै पार्टीको मन्त्रीको अभिव्यक्ति विवादमा परेपछि विज्ञप्ति जारी गरेको छ । जसपाले शनिबार (आज) विज्ञप्तिमा जारी गरेको हो ।
जसपाको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएकी रेणुकुमारी यादव गत बुधबार गौर पुगेर १५ वर्षअघिको जस्तै ‘गौर काण्ड’ दोहोर्याउने धम्की दिएकी थिइन् । मन्त्री यादवको अभिव्यक्ति सार्वजनिक भएपछि चौतर्फी आलोचना र राजीनामा, कारबाहीको माग भइरहेको छ ।
जसपाले जारी गरेको विज्ञप्तिमा भने जनमत पार्टीप्रति भर्त्सना गरिएको छ । ‘मन्त्री रेणुकुमारी यादवको प्रमुख आतिथ्यमा समाजवादी युवा संघ, नेपालको आयोजनामा रौतहटमा आयोजित ‘बलिदानी दिवस’को कार्यक्रमलाई जनमत पार्टीका नाममा उक्त पार्टीका नेता तथा कार्यकर्ताहरु सुनियोजित ढंगबाट लाठी, भाटा, ढुंगा आदि लिई उक्त कार्यक्रमलाई अवरोध गर्ने, कार्यक्रम विथोल्ने, आतंक मच्याउने र हिंसा भड्काउने जस्ता गैर राजनीतिक एवं आपराधिक क्रियाकलापमा संलग्न रहेका थिए’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त पार्टीद्वारा गराइएका यस्ता उद्दण्ड, गैर राजनीतिक, उच्छृंखल, अभद्र, अशोभनीय र आपराधिक कार्यको जसपा, नेपाल घोर विरोध एवम् भर्त्सना गर्दछ।’
