१८ बैशाख २०८१, मंगलवार

सत्ता गठबन्धनकाे बैठक साँझ ५ बजे बस्दै, न्यायालय विवादबारे साझा धारणा आउने सम्भावना

gathabandhan meeting

सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । आज सोमबार बेलुका ५ बजे सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बस्न लागेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ ले जानकारी दिनुभयो ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने उहाँले बताउनुभयो । आज बिहान बालुवाटारमै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता भएको उहाँले बताउनुभयो । भेटवार्तामा समसामयिक वर्तमान राजनीतिक अवस्थाको बारेमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्तापछि सत्ता गठबन्धन दलको बैठक बस्न लागेको प्रेस संयोजक सापकोटाले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरु उपस्थित हुनुहुनेछ ।

बैठकमा समसामयिक राजनीतिक मुद्दामा छलफल हुने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार स्रोतले जनाएको छ।

बैठकमा राजदूत नियुक्ति सम्बन्धमा समेत छलफल हुने बुझिएको छ। न्यायालयका सम्बन्धमा जारी विवादबारे सत्ता गठबन्धनको साझा धारणा आउने सम्भावनासमेत रहेको उक्त स्रोतले बतायो।

न्यायालयको विवाद सम्बन्धमा दलहरुको स्पष्ट धारणा नआएको भन्दै अहिले सर्वत्र आलोचना भइरहेको छ। मुख्यतः सत्तापक्षीय दलहरुले यसमा आफ्नो स्पष्ट धारणा अघि नल्याएको भन्दै विरोधसमेत भइरहेको छ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा आवद्ध छन्।