१८ बैशाख २०८१, मंगलवार

विपक्षी गठबन्धनले लुम्बिनी सरकारमा दाबी पेस गर्दै

Lumbini 4 dal
फाइल फोटो

लुम्बिनी प्रदेश सरकारमा आज त्यहाँको विपक्षी गठबन्धनले सरकार गठनका लागि दाबी पेस गर्दै छ ।

मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलाई आज दिउँसो तीन बजेसम्म सरकार गठनको दाबी पेस गर्न भनेका थिए ।

कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनले आज सरकार गठनको दाबी पेस गर्न लागेको हो । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।

कांग्रेस र माओवादीबीच आठ, आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ । सोही सहमति अनुसार सुरुको आठ महिनाका लागि माओवादी नेता केसीलाई अघि सारिएको हो ।

मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी दलका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेपछि बुधबार प्रदेशसभामा उक्त अविश्वास प्रस्तावमाथि छलफल भएको थियो । तर प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल भइरहेकै बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको जानकारी आएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आहृवान गरेका थिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन माग गर्दै अविश्वास प्रस्ताव दर्ता गराएका थिए । अविश्वास प्रस्तावमा छलफल गर्नका लागि प्रदेश प्रमुख शेरचनले साउन २७ गते विशेष अधिवेशन आह्वान गरेका थिए ।