
ललितपुर प्रहरी परिसरले बच्चा बोकेकी महिलालाई निर्ममतापूर्वक पिट्ने प्रहरी निरीक्षक-इन्स्पेक्टर देवी पौडेललाई जिम्मेवारीबाट हटाएर प्रहरी निरीक्षक सुजित ओझालाई भैसेपाटी प्रभाग प्रमुखको जिम्मेवारी दिइएकाे छ।
ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईले पौडेललाई भेँसेपाटी प्रहरी प्रभाग प्रमुखबाट हटाइएको जानकारी दिए। ‘ मैले शुक्रबार नै उहाँलाई त्यहाँबाट हटाएको पत्र पठाइसकेको थिएँ’, एसएसपी राईले भने। उनले पौडेलले व्यक्तिको घरमा तोडफोड भएपछि प्रहरीलाई प्राप्त अधिकारको दुरुपयोग गर्दै बल प्रयोग गरेको छानबिन समितिलाई बयान दिएको बताए ।
घटनाको छानबिन गर्न ललितपुर प्रहरीले एसपी दुर्गा सिंहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। ‘अबको कारबाही के हुने भन्नेमा समितिको प्रतिवेदन आएपछि निर्णय हुने छ’, एसएसपी राईले भने।
गत बिहीबार भैँसेपाटीस्थित पूर्व जर्नेल हेम खत्रीको घरमा हुलदंगा र तोडफोड गरेको भन्दै इन्स्पेक्टर पौडेलले बच्चा बोकिरहेकी हेमा श्रेष्ठलाई लखेट्दै लाठी बर्साएका थिए। पौडेलले श्रेष्ठलाई लठ्ठी बर्साइरहेको भिडियो सामाजिक सन्जालमा भाइरल बनेको थियो।