२७ बैशाख २०८१, बिहीबार

प्रधानमन्त्री ओलीको नेपालकै सरकारी अस्पतालमा बुधबार मिर्गौला प्रत्यारोपण गरिने, भोलि अस्पताल भर्ना

KP Oli 2

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुनुहुने भएको छ ।

गत कात्तिकदेखि मिर्गौलाले काम गर्न छोडेपछि ओली अहिले नियमित डायलाइसिसमा छन्। ओलीले पहिलो पटक १२ वर्ष अगाडि भारतमा मिर्गौला प्रत्यारोपण गरेका थिए। प्रत्यारोपण गरेको मिर्गौलालाई शरीरले लिन छाडेपछि ओलीले कात्तिकदेखि नियमित डायलाइसिस गर्दै आएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको आज बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बुधबार प्रत्यारोपण लगायत आफ्नो स्वास्थ्योपचार योजनाबारे बताएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई जानकारी दिए ।

राष्ट्रियसभा सदस्यमा हुने मनोनयनबारे सोधिएको प्रश्नमा प्रवक्ता श्रेष्ठले भने, ‘यस विषयमा पहिले नै निर्णय भइसकेकाले फेरि बोलिरहनु परेन ।’

दोस्रो पटक प्रत्यारोपण गर्न तयार प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस अघि नै दुईजना नातेदारले मिर्गौला दान गर्न तयार भइसकेका छन्।

चिकित्सकहरुले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेमा कम्तीमा १० वर्षका लागि समस्या नपर्ने बताएका छन्। त्यसपछि दाताको खोजी थालिएको थियो। तर गत मंसिर पहिलो हप्ता एपेन्डिटाइटिसका कारण पेटमा संक्रमणले अपरेसन गर्नुपरेपछि ओलीको मिर्गौला प्रत्यारोपण पर धकेलिएको थियो।

प्रधानमन्त्री ओली आफैँले केही दिनअघि मात्रै बागमती प्रदेशको कार्यकर्ता भेलामा छिट्टै मिर्गौला प्रत्यारोपण गर्ने बताएका थिए । उनले त्यसबेला प्रत्यारोपणपछि पाँच दिन अस्पताल बस्‍ने र छैटौँ दिनमा घरमै आएर काम थाल्ने बताएका थिए।