१८ बैशाख २०८१, मंगलवार

गर्मी बढ्दै : तराईको तापक्रम ३८ डिग्री सेल्सियस नाघ्यो

garmi
सांकेतिक तस्विर

मौसम सफा भएसँगै देशका सबैजसो ठाउँमा गर्मी बढेको छ । तराईका जिल्लाको तापक्रम ३८ डिग्री सेल्सियस नाघेको छ । यो वर्ष गर्मी सुरु भएयताकै सबैभन्दा बढी हिजो भैरहवाको तापक्रम ३८ दशमलव ६ डिग्री सेल्सियस पुगेको हो ।

अस्ति भैरहवामा ३७ दशमलव ८ डिग्री सेल्सियस पुगेको तापक्रम हिजो बढेर ३८ दशमलव ६ डिग्री पुगेको हो । भैरहवा, सिमरा, नेपालगञ्ज र जनकपुरको तापक्रम हिजोभन्दा आज बढ्ने मौसमविद्ले बताएका छन् । मौसमविद् निराजन सापकोटाले आज तराईका जिल्लाको तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुग्ने बताउनुभयो ।

काठमाण्डौ उपत्यकामा पनि गर्मी बढेको छ । केही दिनदेखियता काठमाण्डौको तापक्रम बढेर ३०–३१ को हाराहारीमा पुग्ने गरेको छ । अस्ति काठमाण्डौको तापक्रम ३१ दशमलव ६ डिग्री सेल्सियस थियो भने हिजो ३१ डिग्री सेल्सियस पुगेको थियो । आज काठमाण्डौको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् सापकोटाले जानकारी दिनुभयो ।

मौसम सफा भइ दिनभर घाम लाग्दा गर्मी बढेको हो । मनसुनी गतिविधि सुरु भएपछि फेरि तापक्रम घट्ने मौसमविद्ले बताएका छन् । सामान्यतया जुन १० तारिखमा नेपालमा मनसुन भित्रिने गर्दछ ।

यसपालि समयमानै मनसुन भित्रने मौसमविद्को अनुमान छ । यसपालिको मनसुनमा औसतभन्दा धेरै पानी पर्ने अध्ययनले देखाएको छ ।