
अन्तराष्ट्रिय कराँते खेलाडी मन्देकाजी श्रेष्ठ नेपाल प्रहरीको सहायक निरीक्षक पदमा बढुवा भएका छन् ।
गत वर्ष नेपालमै भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्देकाजी श्रेष्ठ प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा भएका हुन्।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको ६५ औं वार्षिकोत्सवको अवसरमा बिहीबार श्रेष्ठलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दज्र्यानी चिन्ह प्रदान गरे। हवल्दार पदमा रहेका मन्देकाजी बुधबार प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका थिए।
कराँतेको कातातर्फ एकै दिन दुई स्वर्ण जितेर कीर्तिमान बनाएका मन्देलाई यही योगदानका लागि प्रहरीले बढुवा गरेको हो ।
एक दशकभन्दा बढी समयदेखि मन्दे नेपाल प्रहरी क्लबमा आबद्ध छन् । उनले फेसबुकमार्फत आफ्नो खेल जीवनको महत्वपूर्ण उपलब्धीका लागि नेपाल प्रहरीलाई धन्यबाद दिएका छन् ।
‘बढुवा हुँदा एकदम खुसी लागेको छ, मैले गरेको मेहनतको कदर भएको अनुभव गरेको छु’, नेपालखबरसँग कुरा गर्दै श्रेष्ठले भने, ‘खेलकुद कै क्षेत्रको विशेष कोटाबाट मलाई बढुवा गर्नुभएको हो। त्यसको लागि नेपाल प्रहरीलाई मनबाट नै धन्यवाद दिन चाहान्छु।’
श्रेष्ठ २०६३ साल फागुन १ गते प्रहरी जवान पदबाट नेपाल प्रहरीमा प्रवेश गरेका थिए।

तस्वीरसमेत राखेर उनले फेसबुकमा लेखेका छन्, ‘मेरो खेल जीवनलाई यो उचाईमा पु¥याउन म कार्यरत नेपाल प्रहरी संगठनको योगदान सबैभन्दा महत्वपूर्ण । सागमा दुई स्वर्ण देशलाई दिलाएपछि प्रहरी सहायक निरीक्षकमा बढुवाको सम्मानका लागि संगठनप्रति कृतज्ञ छु । यो बढुवाले आगामी दिनमा पदक जित्दै देश र संगठनको नाम थप उँचो बनाउने हौसला मिलेको छ । सम्पूर्ण कराँते प्रशिक्षकज्यूहरुमा धन्यबाद ।’