१५ बैशाख २०८१, शनिबार

साढे ५ घण्टापछि रिहा भएकी रामकुमारी झाँक्रीले भनिन्: सरकारले दबाब थेग्न सकेन

jhakri 1

नेकपा प्रचण्ड-नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीले सरकारले चौतर्फी दबाब थेग्न नसकेपछि आफूलाई रिहा गरेको प्रतिक्रिया दिएकी छिन् ।

बिहीबार दिउँसो १ बजे पक्राउ परेकी झाँक्रीलाई प्रहरीले साँझ रिहा गरेको हो । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रामकुमारीलाई उनका श्रीमान पशुपति पुरीको जिम्मामा रिहा गरिएको बताए ।

दिउँसो पक्राउ परेकी उनले साँझ रिहा भएपछि यस्तो प्रतिक्रिया दिएकी हुन् ।

उनले प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुने पनि उद्घोष गरिन् । ‘चौतर्फी दबाव थेग्न नसकेपछि सरकारले मलाई रिहा गरेको हो । प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुन्छ, बनाइन्छ’, रिहा भएपछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै भनिन् ।

राष्ट्रपतिबारे अभिव्यक्ति दिएकी रामकुमारीलाई प्रहरीले राज्यविरुद्धको कसूरको अभियोगमा अनुसन्धान गर्न जरुरी पक्राउ पूर्जी थमाएर बिहीबार विहान पक्राउ गरेको थियो ।

दिनभर महानगरीय अपराध महाशाखामा रहेकी झाँक्रीले प्रहरीसँग भने आफ्नो राष्ट्रपति र सो संस्थाप्रति सम्मान रहेको बताएकी थिइन् । महाशाखाका प्रमुख एसएसपी दीपक थापाले झाँक्रीले राष्ट्रपति र सो संस्थाप्रति सँधै सम्मान रहेको र आगामी दिनमा पनि रहने बताएको जानकारी दिए ।

उनका अनुसार झाँक्रीले संविधानले अभिव्यक्ति स्वन्त्रता दिएको हुनाले आफूले राष्ट्रपतिको आलोचना गर्दै भाषण गरेको बताएकी थिइन् । गोरखामा भएको एक कार्यक्रममा उनले राष्ट्रपतिको कडा आलोचना गरेकी थिइन् भने सो अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री ओली समूहका महिला नेत्रीहरुले आपत्ति जनाउँदै उनलाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

उनलाई मिनभवनस्थित महाशाखाको कार्यालयमा झण्डै साढे ५ घण्टा राखेर साँझ रिहा गरिएको छ । प्रचण्ड माधव समूहका नेता योगेश भट्टराईका अनुसार उनलाई प्रहरीले गोरखामा राष्ट्रपतिबारे दिएको अभिव्यक्तिबारे सोधपुछ परेको थियो ।

सोही आधारमा प्रहरीको चासो भन्दा पनि बालु्वाटारकै दबाबमा झाँक्रीलाई पक्राउ गरिएको बताइएको छ ।

उनी पक्राउ परेको विरोधमा प्रचण्ड-माधव समूहका कार्यकर्ताले दिनभर वानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए ।

हिरासतमुक्त भएपछि नेतृ झाँक्रीले आफ्ना अभिव्यक्तिमा कुनै पनि पश्चाताप नभएको प्रतिक्रिया दिएकी छन्। उनले आफू अभिव्यक्ति स्वतन्त्रताका पक्षमा लडिरहने समेत उल्लेख गरिन्।