१८ बैशाख २०८१, मंगलवार

कोरोनाभाइरसको संकट ‘झनै खराब भएर जान सक्ने’ थुप्रै राष्ट्रहरु ‘उल्टो बाटोमा हिँडिरहेको’ डब्ल्यूएचओको चेतावनी

who chief

देशहरुले निर्णायक कदम नचालेमा कोरोना संक्रमणको महामारीको स्थिति झन् बिग्रिने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले दिएको छ ।

सबै राष्ट्रहरुले स्वास्थ्य सुरक्षाका आधारभूत नियमहरुको पालना नगरेमा कोरोनाभाइरस महामारीको संकट झनै खराब भएर जान सक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले जनाएको छ । डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले धेरै देशहरु गलत दिशामा अघि बढेको भन्दै उक्त चेतावनी दिएका हुन् ।

‘मलाई सोझो भन्न दिनुहोस्, धेरै देशहरु गलत दिशातिर अघि बढिरहेका छन्, भाइरस अझै पनि आमजनताका लागि १ नम्बरकै दुश्मनको रुपमा रहिरहेको छ,’ विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अधनोम घेबे्रससले जेनेभास्थित मुख्यालयबाट एउटा भर्चुअल प्रेस व्रिफिङमा भनेका छन् ।

उनले भनेका छन्, ‘जुन देशमा कोरोनाका संक्रमण रोक्ने प्रावधान ठीक ढंगले लागु गरिएको छैन, त्यहाँ खतरनाक ढंगले संक्रमण बढीरहेको छ । अझ स्पष्ट रुपमा भन्नुपर्दा कतिपय देश गलत दिशामा हिँडिरहेका छन् ।’ कोरोना भाइरसलाई ‘मानिसको नम्बर एक शत्रु’ बताउँदै उनले, तर कतिपय देशका सरकार र त्यहाँका नागरिकहरुले सावधानी नअपनाएको बताए ।

‘आधारभूत कुराहरुलाई पालना गरिएन भने, एउटै मात्र कुरा के हो भने यो महामारी जारी रहनेछ, यो झनै खराब, खराब र खराब बन्दै जानेछ । तर यो यस किसिमले हुनुहुँदैन,’ उनले भनेका छन् ।

‘धेरै नै मुलुकहरु गलत दिशातिर अघि बढिरहेका छन् र विश्वव्यापी रुपमा संक्रमितको संख्या १ करोड ३० लाख नजिक पुगिसकेको छ,’ उनले चेतावनी दिँदै भनेका छन् ।

धेरै देशहरुमा भौतिक दुरी कायम गर्ने, हात धुने, मास्क लगाउने जस्ता सामान्य सतर्कता पनि नअपनाइएको भन्दै उनले यदि डब्ल्यूएचओ र स्वास्थ्यविज्ञहरुले दिएका सावधानीका उपाय नअपनाए विश्व सामान्य अवस्थामा फर्किन नसक्ने चेतावनी दिए ।

उनले ‘तत्कालै पहिलेको स्थितिमा फर्कन सकिने अवस्था देखानपरिसकेको’ बताउँदै भनेका छन्, ‘तर रोगलाई नियन्त्रण गरेर हामी हाम्रो जीवनलाई अघि बढाउन सकिने बाटाहरु छन् ।’

‘हामीले हाम्रा जनजीवनलाई पूर्णतः बन्द नगरिकनै वा एउटा लकडाउनदेखि अर्को लकडाउनसम्म नघिस्रिकने पनि यो भाइरसमाथि पर्याप्त मात्रामा नियन्त्रण गर्दै एउटा धान्न सकिने अवस्थामा पुग्नु जरुरी छ,’ उनले भनेका छन् ।

तर केही नेताहरुले उल्टै विश्व स्वास्थ्य संगठनलाई कोरोना भाइरसको संक्रमण रोक्न नसकेको भनेर आरोप लगाउने गरेको गेहब्रेयससले बताए । यसो भन्दै गर्दा उनले कसैको नाम त लिएनन् तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति संकेत गरेको अनुमान कतिपयले गरेका छन् ।

डोनाल्ड ट्रम्पले डब्ल्यूएचओको कडा आलोचना गर्दै आएका छन् । डब्ल्यूएचओसँग सम्बन्ध तोडेको घोषणा गर्दै ट्रम्पले आर्थिक सहायतासमेत कटौती गरेका छन् ।

त्यो स्थितिमा पुग्नका लागि हामीलाई तीनवटा कुराहरुको आवश्यकता पर्दछ,’ उनले भनेका छन्, ‘मृत्युदरलाई घटाउने कुरामा केन्द्रीत हुने र संक्रमण दरमा कमी ल्याउने; समग्र समुदायलाई जोगाउने गरी आफ्नै खालका उपायहरु अपनाउने बलियो र सक्रिय समुदायको निर्माण; र बलियो सरकारी नेतृत्व र सूसुचित गर्ने कुरा ।’

‘यो गर्न सकिन्छ र गरिनै पर्छ,’ टेड्रोसले भनेका छन् ।

उनका अनुसार, यो महामारीलाई नियन्त्रण गर्न कुनै छोटो तरिका उपलब्ध छैन, यो स्थितिमा हामीले प्रभावकारी खोपको अपेक्षा गरिरहेकै बेला हामीले अहिले उपलब्ध विधि र उपायहरुको प्रयोग गरेर संक्रमणदरलाई दबाउन तथा जीवनको रक्षा गर्नु जरुरी छ ।

जोन हप्किन्स युनिभर्सिटीका अनुसार, साेमबार राति १२ बजेसम्ममा विश्वभरिमा कोरोनाभाइरसले १,२९,८४,८११ जनालाई संक्रमित तुल्याइसकेको छ । तीमध्ये ५,७०,३७५ जनाको निधन भइसकेको छ भने ७१,५६,९२५ मानिसहरु निको पनि भइसकेका छन् ।