८ बैशाख २०८१, शनिबार

अयोध्या नेपालमै पर्ने प्रधानमन्त्री ओलीको भनाई उटपट्याङ हो : कमल थापा

kamal

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अयोध्या बारे प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई उटपट्यांग र अप्रमाणित  रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार आफ्नै निवासमा आयोजित कार्यक्रममा अयोध्या वीरगञ्जभन्दा अलि पश्चिमपट्टीको ठोरी गाउँमा पर्ने भन्दै भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएपछि अध्यक्ष थापाको यस्तो टिप्पणी आएको हो ।

प्रधानमन्त्री ओलीले सोमबार हिन्दु धर्मावलम्बीले भगवान मान्ने रामको जन्मभूमि अयोध्या नेपालको वीरगञ्जभन्दा केहीपर ठोरीमा पर्ने तर भारतले विवादित अयोध्या खडा गरेको अभिव्यक्ति दिएका थिए।

ओलीको दाबी उटपट्याङ, अपुष्ट र अप्रमाणित भन्दै राप्रपाका अध्यक्ष थापाले सोमबारै ट्वीट गरेका छन्।

अध्यक्ष थापाले प्रधानमन्त्रीको स्तरबाट यस्ता उटपट्यांग, अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन भन्दै भारतसँग सम्बन्ध सुधार्ने भन्दा बिगार्ने तर्फ प्रधानमन्त्रीको ध्यान गए जस्तो लागेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले नेपालीहरू सांस्कृतिक हिसाबले थिचिएको बताएका थिए।

‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौं। तथ्यहरूमा अतिक्रमण भएको छ। हामी अहिले सीता भारतका राजकुमार रामलाई दियौं भनेर ठानिरहेका छौं। भारत हैन अध्योध्याकालाई दिएका हौं। अयोध्या भनेको वीरगन्जभन्दा अलि पश्चिमपट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन,’ उनले भने।

प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सही हो भने त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न गरे। उनले भने ‘सन्तान पनि भारतका हुँदै होइनन्, ठाउँ पनि भारतको होइन, तर त्यो इतिहास अहिले बहस गरी साध्य छैन।’

प्रधानमन्त्री ओलीले ज्ञान, विज्ञानको सुरुआत र विकास नेपालमा भएको भए पनि त्यो श्रृङ्खलाले निरन्तरता पाउन नसकेको बताएका थिए।