१९ बैशाख २०८१, बुधबार

माडीमा अयोध्याधाम बनाउन प्रधानमन्त्रीको निजी सहयोग, राम र सीताको मूर्ति बालुवाटारमा

ram sita with pm oli 21612692482 1024x683 1

माडी नगरपालिकामा अयोध्याधाम बनाउनको लागि प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा भगवान राम र सीताको मूर्ति तयार भएको छ ।

चितवनबाट प्रधानमन्त्रीसँगको भेटघाटका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका माडी निवासी नेकपा चितवनका सल्लाहकार श्याम विष्टले राम र सीताको मूर्ति तयार भएर बालुवाटार प्रधानमन्त्रीको सचिवालयमा राखिएको र हनुमान र लक्ष्मणको मूर्ति भने बन्दै गरेको बताए । उनले भने, ‘ प्रधानमन्त्री ओलीको सौजन्यमा झण्डै पाँच फिट बढी अग्लो राम र सीताको मूर्ति तयार गरिएको छ । दुवै मूर्ति तयार गरेर बालुवाटारमा राखिएको छ ।’ नेता विष्टले आगामी वर्षको राम नवमीमा सो मूर्तीलाई प्रतिस्थापन गरिने योजना रहेको जानकारी पाएको बताए ।

प्रधानमन्त्री ओलीले माघ १७ गते भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दा पनि यस बारेमा चर्चा गरेका थिए । उनले माडीमा अयोध्याधाम बनाउन प्रचण्डले खासै चासो नदिएको भनेर आक्रोश पनि व्यक्त गरे । माडी नगरपालिकाका नगर प्रमुख ठाकुर ढकालले माडी नगरपालिकाले माडी नगरपालिका वडा नम्बर ९ को कृष्णनगर पार्कमा राख्ने गरी १०० बिघा जग्गासहित अयोध्याधाम बनाउन सिफारिस गरिएको तर कुनै निर्णय भएको जानकारी नआएको बताए । उनले अयोध्या धाम पनि घोषणा हुन बाँकी रहेको जानकारी दिए । उनले भने, ‘राम मन्दिरसँगै सुकुमबासी, चेपाङहरुको घर बनाउन पनि प्रस्ताव गरेका छौं ।’

नेकपा भरतपुरका अध्यक्ष राम न्यौपानेले आफूहरुले काठमाडौँ जाँदा राम र सीताको मूर्ती बारे जानकारी लिएर आएको बताए । उनले भने, ‘राम मन्दिर कहाँ बनाएर मूर्ती कता प्रतिस्थापन गर्ने भन्ने बारेमा पुरातत्व विभागले थप अध्ययन गरिरहेको छ । माडी नगरपालिकामा पनि यसबारेमा छलफल हुँदै छ ।’

भानु जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारत नभई माडीको अयोध्यापुरी रामको जन्मस्थल रहेको बताएपछि यसले तरंग पैदा गरेको थियो । माडी नगरपालिका–८ दक्षिण अयोध्यापुरी स्थित आधारभूत विद्यालयको दक्षिण पश्चिममा रहेको जमिन, माडी–९ स्थित घाँगरखोलाको छेउमा रहेको कृष्णनगर पार्कको जमिन र माडी–९ मै रहेको गणेशकुञ्ज क्षेत्रको जमिनलाई मन्दिर निर्माणका लागि उपयुक्त ठहर गरिएको नगरपालिकाले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउनमा माडीका प्रतिनिधिहरुसँगको भेटमा २०७८ सालको रामनवमीमा मूर्ति प्रतिस्थापन गर्ने गरी तयारी थाल्न भनेका थिए ।

प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिपछि त्रेतायुगका भगवान श्रीरामको जन्मभूमी अयोध्याको विषयमा अनुसन्धान थाल्नु पर्ने बहस सुरु भएको थियो । रामको जन्मभूमी अयोध्या भारतमा नभइ नेपालको ठोरीमा पर्ने प्रधानमन्त्रीको अभिव्यक्तिपछि कतिपयले यसलाई व्यङग्यका रुपमा लिएका थिए भने केहीले विरोध पनि जनाएका छन्। प्रधानमन्त्रीको अभिव्यक्ति आएसँगै भारत बिहारको सीमासँगै जोडिएको पर्साको ठोरी नकाबन्दीपछि अहिले फेरि एकाएक चर्चित बन्न पुगेको थियो ।