२३ बैशाख २०८१, आईतवार

तेन्जिङ नोर्गे शेर्पामाथि फिल्म ‘तेन्जिङ’ बनाउँदै पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा

maxresdefault 1

पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले तेन्जिङ नोर्गे शेर्पामाथि फिल्म ‘तेन्जिङ’ बनाउने भएका छन्।

सगरमाथाका पहिलो आरोही तेन्जिङ नोर्गे शेर्पाका बारेमा बाराक ओबामा र मिशेल ओबामाको प्रोडक्सन कम्पनीले फिल्म बनाउने भएको छ ।

उनीहरुको कम्पनी हाइअर ग्राण्ड प्रोडक्सनले नेटफ्लिक्ससँगको सहकार्यमा फिल्म निर्माण गर्न लागेको हो। फिल्म एड डगलसको पुस्तक ‘तेन्जिङ हिरो अफ एभरेस्ट’ र नोर्गेको साँचो कथामा आधारित हुने जनाएको छ।

ओबामाले केही महिना यता थुप्रै कथाहरू पढ्दै र पटकथाहरू सुन्दै गरेको खबर बाहिरिएको छ। यसैबीच सन् २०२१ मा ओबामाको आफ्नो प्रोडक्सन कम्पनीले नेटफ्लिक्ससँग ६ नयाँ योजना र सहकार्यबारे घोषणा गरेको छ।

बाराक र मिशेल ओबामाको प्रोडक्सन कम्पनी ‘हायर ग्राउन्ड प्रोडक्सन’ लामो समयदेखि मनोरञ्जको दुनियाँमा सक्रिय छन्।

फिल्म तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्यान्डका आरोही एडमण्ड हिलारीको साँचो कथामा आधारित छ । फिल्मको निर्देशन जेनिफर पिडमले गर्नेछिन्। स्क्रिनडेलीको रिपोर्टअनुसार फिल्मको नाम तेन्जिङ रहनेछ।

हायर ग्राउन्ड प्रोडक्सनले ‘तेन्जिङ’सँगै मोहसिन हामिदको लोकप्रिय उपन्यास ‘एक्जिट वेस्ट’ मा आधारित फिल्म र ओला सोकुन्बी लिखित पुस्तक ‘स्याटलाइट’ मा आधारित फिलहरू निर्माणको पनि घोषणा गरेका छन्।

यसभन्दा अघि हायर ग्राउन्ड प्रोडक्सनले सन् २०१९मा वृत्तचित्र ‘अमेरिकन फ्याक्ट्री’ निर्माण गरेको थियो। उक्त वृत्तचित्रले गत वर्ष सर्वश्रेष्ठ वृत्तचित्रको लागि ओस्कार पनि जितेको थियो।

नोर्गेले एडमन्ड हिलारीसँगै सगरमाथाको पहिलो सफल आरोहण सन् १९५३ मे २९ का दिन गरेका थिए। नोर्गे सन् १९१४ मे २९ मा सोलुखुम्बुमा जन्मिएका थिए भने उनको मृत्यु १९८६ मे ९ मा भारतको दार्जिलिङमा भएको थियो।

ओबामाको नयाँ प्रोजेक्ट ‘तेन्जिङ’ नेटफ्लिक्सबाट सार्वजनिक हुनेछ।