fbpx
२९ बैशाख २०७८, बुधबार

राम, सीताको पूर्ण कदका मूर्ति वैशाख ७ गते काठमाडौँबाट अयोध्याधाममा ल्याइने

चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका राम, सीता, लक्ष्मण र हनुमानको पूर्ण कदका मूर्ति आउँदो वैशाख ७ गते काठमाडौँबाट र्‍याली सहित ल्याइने र वैशाख ८ गते कार्यक्रम सहित स्थापना गर्ने कार्यतालिका सार्वजनिक भएपछि मन्दिर निर्माण तीव्र पारिएको हो ।

मूर्ति स्थापना गर्न माडीका राजनीतिक दलको सर्वदलीय सहमति र सामाजिक सङ्घ संस्थाको समन्वयमा तयारीका काम अगाडि बढिरहेका छन् । कार्यक्रममा विभिन्न जातजातिका झाँकी प्रदर्शन गर्न तयारी भइरहेको अयोध्याधाम व्यवस्थापन समिति प्रचारप्रसार उपसमितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो ।

कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गर्न शुक्रबार माडी नगर कार्यपालिका र अयोध्याधाम व्यवस्थापन समिति सचिवालयको संयुक्त बैठक गरिएको छ । बैठकले माडी र र्‍यालीको बाटोमा पर्ने भरतपुर महानगरकाका वडामा स्वागतद्वार राख्न अनुरोध गर्ने निर्णय भएको माडी नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन गरी सक्रियरुपमा काम अगाडि बढिरहेको उहाँले बताउनुभयो । अयोध्याधाममा सरसफाइ, निर्माण र सहयोगको काम अगाडि बढिरहेको अयोध्याधाम व्यवस्थापन समितिका अध्यक्ष तीर्थ भुसालले जानकारी दिनुभयो ।

अयोध्याधाम निर्माणको लागि आर्थिक तथा जिन्सी सहयोग आइरहेका छन् । निर्माण कार्य तीव्ररुपमा अगाडि बढेपछि अवलोकन गर्न आउनेको पनि चहल पहल बढेको छ ।