आचार्य तीन हजार २७२ मतले अगाडि पोखरा महानगरपालिकामा
स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको जारी मतगणनामा सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य तीन हजार २७२ मतले अघि हुनुहुन्छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले साँझ ८ बजे जारी गरेको अद्यावधिक मत परिणाम अनुसार ९२ हजार ५६१ मत गणनामा आचार्यले हालसम्म ३७ हजार १२२ मत प्राप्त गरी अग्रता कायमै राख्नुभएको छ । यसैगरी प्रमुखका प्रत्याशी नेकपा (एमाले)का कृष्णबहादुर थापा ३३ हजार ८५० मत प्राप्त गरी आचार्यलाई पछ्याइरहनुभएको छ ।
उपप्रमुखमा भने नेकपा (एमाले)का उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता छ । गुरुङले ३८ हजार ५७६ मत प्राप्त गरी अग्रता बनाउँदा उहाँका निकटतम प्रत्याशी गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका कोपिला रानाभाटले ३७ हजार ५४५ मत ल्याउनुभएको छ ।