१३ बैशाख २०८१, बिहीबार

निर्वाचनबारे सुरक्षा निकायका प्रमुखबिच छलफल

nepal army1

स्थानीय तह निर्वाचन– २०७९ सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा सुरक्षा निकायका प्रमुख तथा अन्य अधिकारीहरूबिच आज छलफल भएको छ ।

नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा भएको छलफलमा प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलको सहभागिता थियो ।

नेपाली सेनाका बलाधिकृत रथी, बलाध्यक्ष रथी लगायत अन्य सुरक्षा निकायका पदाधिकारीको सहभागिता रहेको उक्त बैठकमा सेनाको युद्ध कार्य निर्देशनालयबाट निर्वाचनका लागि नेपाली सेनाले हालसम्म गरेका कार्य प्रगति तथा अन्य सुरक्षा निकायसँग समन्वय गर्नुपर्ने विषयमा प्रस्तुतीकरण गरिएको नेपाली सेनाले जनाएको छ ।

बैठकमा स्थानीय तह निर्वाचन–२०७९ स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सुरक्षा निकायलाई प्राप्त जिम्मेवारी आपसी समन्वय र सहकार्यका साथ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने लगायतका विषयमा छलफल भएको थियो ।