
नेकपा एमालेको तर्फबाट पोखराको मेयरको टिकट पाएका दीपक पौडेल अहिले आलोचित भएका छन् ।
केही वर्षअघि पोखराकै एक सुन पसलबाट उनले सुनको औंठी चोरेको सिसीटीभी फुटेज बाहिरिएपछि आलाेचित भएका हुन् ।
पौडेलको उक्त गतिविधिको भिडियोसहितको विरोध एमालेकै नेता कार्यकर्ताले समेत गरेका छन् ।
उनीहरूले पार्टीबाट यसको स्पष्टीकरण खोजेका छन् भने उम्मेद्वार फेर्नसमेत दबाब दिएका छन् ।
तर मेयरका उम्मेद्वार पौडेलले आफ्नो चरित्र हत्या गर्नका लागि भिडियो बाहिर ल्याएको प्रतिक्रिया दिएका छन् ।
‘यो भएकै थिएन । मेरो चरित्र हत्या गर्न भ्रामक कुरा बाहिर ल्याइयो,’ उनले भने, ‘यस्ता कुराको म खण्डनसमेत गर्दिनँ । गर्न परे पार्टीले गर्छ । साथीहरू लागिरहनु भएको छ ।’
उनले त्यस्तो घटना कहिलै नभएको दाबी गरेका छन् ।