१६ चैत्र २०८०, शुक्रबार

के-के छ नेपाली कांग्रेसको घोषणापत्रमा ?

congress 2

स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले समुन्नत नेपालको राष्ट्रिय संकल्प भन्दै घोषणापत्र सार्वजनिक गरेको छ । महामन्त्री गगन थापाको नेतृत्वमा रहेको घोषणा पत्र तयारी समितिले तयार गरेको घोषणा पत्रमा विगत पाँच वर्षको स्थानीय तहदेखि संघीय सरकारसम्मको मूल्यांकन र भावी कार्यक्रम र कांग्रेसका नाराहरु समेटिएका छन् ।

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि जारी गरेको घोषणा पत्रमा आफ्ना भावी कार्यक्रमलाई भन्दा विगतका वर्षमा कम्युनिष्ट पार्टीले नेतृत्व गरेको संघीय सरकार र स्थानीय सरकारहरुमा देखिएको कमजोरीलाई उधिनेको छ ।

खेर गएको पाँच वर्ष
संविधानसभाबाट संविधान निर्माणपछि पहिलो पटक भएको स्थानीयदेखि प्रदेश र संघीय संसदको निर्वाचनलाई संविधान कार्यान्वयनको पहिलो पाइला मानिएको थियो । तर यी निर्वाचनमा कम्युनिष्ट पार्टीहरुले प्राप्त गरेको ठूलो मत र जनअ‍पेक्षाको उपेक्षा भएको कांग्रेसको आरोप छ ।

कांग्रेसले घोषणा पत्रमा भनेको छ, ‘त्यति ठूलो जनादेश पाएको नेकपाको सरकार देश बनाउन होइन, आफूलाई प्राप्त जनादेशको खतरनाक दुरुपयोग गर्नतिर लाग्नु संविधान निर्माणपछिको समयमा नेपाली राजनीतिको सबैभन्दा ठूलो दुःखान्त हो ।’

अधिनायकवाद र सर्वसत्तावादको सूत्रपात
कांग्रेसले लोकप्रियतावादी नाराको आधारमा भोट प्राप्त गरेको नेकपाले सरकार गठन भएदेखि नै संविधान, लोकतान्त्रिक प्रणाली, जनताको नैसर्गिक अधिकार, संवैधानिक संस्था र राज्यको चौथो अंग सञ्चार जगतमाथि नियोजित रुपमा संगीन आक्रमण गरेको आरोप लगाएको छ ।

लोकतान्त्रिक गणतन्त्र र संविधान असफल बनाउने षड्यन्त्र
कांग्रेसले तत्कालीन नेकपा नेतृत्वको सरकारका प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको र आलोचना हुँदाहुँदै फेरि दोस्रो पटक पनि विघटन गरेकोमा चर्को आलोचना गरेको छ ।

अर्कोतर्फ कांग्रेसले वर्तमान सरकारलाई एमालेले परमादेशी सरकार भन्दै आएकोमा तिखो प्रहार गर्दै एमाले पार्टी नै अदालतको आदेशबाट गठन भएको जवाफ फर्काएको छ ।

उत्ताउलो घोषणाको विकास
कांग्रेसले प्रचण्ड बहुमत प्राप्त ओली सरकार जनउत्तेजना फैलाउन र आलोचकहरुप्रति हल्काफुल्का टिप्पणी गर्न केन्द्रित भएको तर्क गरेको छ । घोषणापत्रको आधा भाग तत्कालीन सरकार र हालको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचनामा खर्चिएको कांग्रेसले घोषणा पत्रमा राखेको भावी कार्यक्रमको मुख्यपक्ष स्थानीय तहहरुलाई सबल बनाउने केही प्रणहरु हुन् ।

उसले शिक्षा, स्वास्थ्यलगायत सामाजिक सुरक्षाका थुप्रै कामहरुका लागि आमूल परिवर्तन गर्ने खालका घोषणा आफ्नो घोषणा पत्रमा समावेश गरेको छ । टोलटोल इन्टरनेट सुविधा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ। ‘सबै टोल र गाउँमा इन्टरनेटको सुविधा पुर्‍याउने, सबै सार्वजनिक स्थानमा निःशुल्क वाइफाईको व्यवस्था गर्ने’, घोषणापत्रमा भनिएको छ ।

सामाजिक सुरक्षाः कोखदेखि शोकसम्म, फोहरमैला व्यवस्थापन तथा सरसफाइ सामाजिक न्याय र समावेशीता

सरकारी कार्यालयहरुमा मात्र होइन विद्यालयहरुसमेत प्रविधिमैत्री बनाउने कांग्रेसको घोषणा छ । त्यस्तै ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, महिला स्वास्थ स्वयंसेविका, अति विपन्न, दलित, एकल महिला, अति अशक्त र अपांगता भएका व्यक्तिलाई निशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउने उल्लेख छ ।

६० वर्ष माथिका नागरिक, गर्भवती महिला, दीर्घ रोग भएका, अपांगता भएका र स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसकेका व्यक्तिलाई नियमित परीक्षण परामर्श, औषधि र उपचारसहित घरमै स्वास्थ्य सेवाको नारा दिइएको छ ।

कांग्रेसले आफ्नो नारामा गर्भवतिदेखि मृत्यु हुँदासम्ममा सहयोगको प्रतिबद्धता जनाएको छ । कोखदेखि शोकसम्मको नारा कांग्रेसले तय गरेको छ । यस्तै सुविधासम्पन्न एम्बुलेन्स, दमकल, व्यवस्थित यातायातका कुरा घोषणापत्रमा समावेश गरिएको छ ।

भू–उपयोग योजना र भूमि माथि नागरिक अधिकार जस्ता लोकप्रिय नाराहरु कांग्रेसले आफ्नो घोषणापत्रमा समेटेको छ ।