१४ बैशाख २०८१, शुक्रबार

अर्थतन्त्र सुधारका लागि सबैको ध्यान पुग्नुपर्छ: राष्ट्रपति भण्डारी

bidhyadevi
फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारीले देशको अर्थतन्त्र सुधारका लागि सबैको ध्यान पुग्नुपर्ने बताउनुभएको छ ।

नेपाल जनप्रशासन सङ्घले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको हेमबहादुर मल्ल सम्मान पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति भण्डारीले देशको आर्थिक अवस्था सुधार गरी विकासको गति बढाउनुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले समुन्नत राष्ट्र निर्माणका लागि प्राकृतिक श्रोतको दिगो उपयोगमा जोड दिनुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले विकासको गतिलाई प्रभावकारी बनाउन भ्रष्टाचार नियन्त्रण गरी सुशासन र पारदर्शिता बढाउन विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले सुदृढ अर्थतन्त्र निर्माणका लागि शिक्षा र स्वास्थ्यमा राज्यको लगानी बढाई सक्षम र स्वस्थ जनशक्ति उत्पादन गर्न सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्न पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बाँस्कोटाले राज्यका हरेक समस्या समाधानका लागि पूर्व प्रशासकहरूको सीप, क्षमता र अनुभव उपयोगी हुने बताउनुभयो ।

कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष कल्याण गोविन्द श्रेष्ठले कृषकलाई समयमै सहज रुपमा रासायनिक मल उपलब्ध गराउन साल्ट ट्रेडिङ कर्पोरेसनले दीर्घकालीन योजनाका साथ काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायलाई २०७६ सालको हेमबहादुर मल्ल सम्मान पुरस्कार प्रदान गरियो ।

पुरस्कारको राशि २ लाख रुपैयाँ रहेको छ ।