११ बैशाख २०८१, मंगलवार

बसले कारलाई ठक्कर दिँदा कारमा सवार पाँच जनाको निधन

dhading accident

पृथ्वी राजमार्गअन्तरर्गत धादिङको थाक्रे ७ जुँगेखोलामा भएको सवारी दुर्घटनामा पाँच जनाको निधन भएको छ।

आज साँझ काठमाडौंबाट धादिङबेशी जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले गल्छीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र ०१–०२५ च २९६८ नम्बरको कारलाई ठक्कर दिँदा कारमा सवार ५ जनाको निधन भएको जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ । ठक्कर दिने बसमा सवार १ जना भने घाइते भएका छन् ।

निधन हुनेमा कार चालक तनहुँ खैरेनी घर भएका वर्ष ३५ का दिलबहादुर बस्नेत, भारत उत्तरप्रदेश घर भएका अन्दाजी ४५–५० वर्षका विमल चन्द्र अग्रवाल, सोही ठाउँ का अन्दाजी वर्ष ३५–३६ का साधना अग्रवाल, वर्ष ४०–४२ का सन्ध्या अग्रवाल र वर्ष ५०–५५ का राकेश अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

दुर्घटनापछि घाइते भएका धादिङको निलकण्ठ–११ का राम परियारको काठमाडौंमा उपचार भइरहेको प्रहरीले बताएको छ ।