१४ बैशाख २०८१, शुक्रबार

भोली बेलुकामात्रै टुंगो लगाइने चुनावी तालमेल गर्ने र कहाँ नगर्ने

gatha

सत्ता गठबन्धनले आइतबार बेलुकामात्रै कहाँ चुनावी तालमेल गर्ने र कहाँ नगर्ने भन्नेबारे निर्णय लिने भएको छ । गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले स्थानीय तहको निर्वाचनमा देशभर चुनावी तालमेल गर्ने निर्णय गरेका छन् भने महानगरपालिका र उपमहानगरपालिकामा केन्द्रबाट तालमेल गरेका छन् ।

अब अन्तिम समयमा यदि तल्ला तहले तालमेलकाे निर्णय गर्न नसके वा सहमति जुटाउन नसके केन्द्रबाट हस्तक्षेप गरेर भए पनि त्यस्ता ठाउँको विषयमा निर्णय लिने नेताहरुको तयारी छ । चुनावी तालमेलको देशभरको अवस्थाबारे समीक्षा गर्न शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवासमा बसेको गठबन्धनको बैठकमा नेताहरूले आइतबार बेलुकासम्म त्यसबारे निष्कर्षमा पुग्ने सहमति गरेका हुन् ।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तल्ला तहमा तालमेल हुन नसकेको ठाउँमा केन्द्रबाटै हस्तक्षेप गरेर भए पनि निर्णय गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर कांग्रेस र माओवादी केन्द्रका नेताहरूले भने तल्ला तहको निर्णयको आधारमा केन्द्रले निर्णय लिनुपर्ने बताएका थिए । महानगर र उपमहानगरमै स्थानीय भावनाविपरीत निर्णय गरेको भन्दै कांग्रेस, माओवादी केन्द्र र जसपाका नेता कार्यकर्ताले विरोध गरिरहेका छन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरू र कार्यदलका सदस्य नेताहरू सहभागी थिए । नेताहरूले केन्द्रबाट हस्तक्षेप गर्नुभन्दा अघि तल्ला तहबाटै चुनावी तालमेलको प्रयास गर्ने र तालमेल गर्ने निर्णय हुन नसकेको अवस्थामा त्यस्तो ठाउँको बारेमा केन्द्रबाट निर्णय लिने समझदारी गरेका छन् ।

नेताहरूले कहाँ-कहाँ गठबन्धन भयो ? कहाँ गठबन्धन भएको छैन भनेर फेहरिस्त तयार गर्न रामचन्द्र पौडेल नेतृत्वको कार्यदललाई जिम्मेवारी दिएका छन् । शनिबारको गठबन्धन बैठकमा कार्यदलले देशभरिको चुनावी तालमेल अवस्थाबारे जानकारी प्रस्तुत गरेको थियो । माओवादी अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले गठबन्धनले देशभरि चुनावी तालमेल गर्ने वा नगर्ने भन्नेबारे शनिबार रातभरि र आइतबार बिहान ८ बजेसम्म सहमतिको प्रयास गर्न निर्देशन गरेको जानकारी दिए ।

‘अहिले करिब ५० प्रतिशत स्थानीय तहमा चुनावी तालमेलको निर्णय भयो भन्ने निष्कर्ष छ । बाँकी तहमा तालमेल गर्न देशैभरि सहमतिको प्रयास छ,’ उनले भने, ‘शनिबार रातभरि र बिहानसम्म पनि तालमेलको प्रयास गर्ने र तालमेलको सहमति नहुने अवस्था भए केन्द्रलाई लेखेर पठाउने । त्यसरी जिल्लाबाट प्राप्त जानकारीमाथि ९ बजे केन्द्रको कार्यदलले बसेर छलफल गर्ने भन्ने निर्णय भएको छ ।’

उनका अनुसार तल्ला तहबाट प्राप्त जानकारीको आधारमा कार्यदलले गठबन्धनमा सुझाव प्रस्तुत गर्नेछ । ‘तल्ला तहले गठबन्धन गर्न नसक्नुका कारणहरु लेखेर पठाउने र त्यसमाथि कार्यदलले छलफल गरेर गठबन्धनमा सुझाव प्रस्तुत गर्ने,’ उनले अघि भने, ‘त्यसपछि कार्यदलको सुझावका आधारमा सत्ता गठबन्धनले कहाँ–कहाँ चुनावी तालमेल गर्ने वा कहाँ–कहाँ नगर्ने भन्नेबारे निर्णय गरेर टुंगो लगाउने सहमति भएको छ ।’

उनका अनुसार सत्ता गठबन्धनको अर्को बैठक आइतबार दिउँसो ३ बजे बस्नेछ । गठबन्धनले केन्द्रबाट निर्णय गरेपछि त्यहीअनुसार उम्मेदवारको टुंगो लगाएर सोमबार उम्मेदवारको मनोनयन दर्ता गराइने नेताहरूले बताएका छन् । गठबन्धनले केन्द्रबाट महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको सिट बाँडफाँट गरे पनि नगरपालिका र गाउँपालिकामा त्यसबारे टुंगो लाग्न सकेको छैन ।