८ बैशाख २०८१, शनिबार

महिना भित्र बक्स अफिस प्रणालीमा नआउने हलहरु जेठबाट बन्द

film hall

चलचित्र विकास बोर्डले वैशाख महिना भित्र बक्स अफिस प्रणालीमा नजोडिने हलहरुलाई बन्द गर्ने निर्णय गरेको छ । बोर्डका सदस्य तथा हल अनुगमन समितीका संयोजक अर्जुन कुमारले जेठ महिनादेखि कानुन अनुसार नचल्ने हलहरुलाई बन्द गर्ने निर्णय गरिएको बताए ।

बोर्डको बैठकले बक्स अफिस प्रणालीमा नजोडिएका हलहरुलाई तत्काल प्रक्रिया थाल्न पनि आग्रह गरेको छ । केही फिल्म हलहरूले २०७५ देखि बक्स अफिस प्रणली लागू गर्दै आएका छन् भने केही हलहरूमा अझै बक्स अफिस प्रणली लागू भएको छैन। 

अर्जुनले भने–‘विशेषगरि, कानुनको पालना नगर्ने हललाई हामीले कारबाही गर्ने निर्णय गरेका छौं । यो महिना भित्र बक्स अफिस प्रणालीमा नआउने हलहरु जेठबाट बन्द हुन्छन् ।’

उनले, जेठबाट हल अनुगमन सुरु हुने पनि बताए । यस्तै, बक्स अफिस प्रणाली जडान गरेर पनि सही हिसाब नदिने हललाई के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने–‘हामीले कारवाही प्रक्रिया अगाडि बढाइसकेका छौं । कतिपय हलहरुले कारोबार लुकाएको पनि पाइयो । सबैलाई कारबाही हुन्छ ।’

उनका अनुसार, काठमाडौं बाहिरका हलहरुमा बक्स अफिस जडान नभएको धेरै पाइएको छ । हलहरुले अटेर गरेको खण्डमा कानुन अनुसार कारबाही गर्ने उनले चेतावनी दिए ।