७ बैशाख २०८१, शुक्रबार

चितवन जसपाले भन्यो गठबन्धनको नाममा आत्मसमर्पण गर्दैनौं

jasapa

जनता समाजवादी पार्टी (जसपा) चितवनले गठबन्धनको नाममा आत्मसमर्पण नगर्ने प्रष्ट पारेको छ । सम्मानजनक हैसियत अनुसार गठबन्धन स्वीकार गरिने तर गठबन्धनको नाममा आत्मसमर्पण नगर्ने पार्टीले प्रष्ट पारेको हो ।

जिल्ला उपाध्यक्ष यदु कृष्ण भट्टले गठबन्धनका नाममा आफुहरू निरिह नहुने र आफूहरुको सल्लाहबिना गरेको सहमति मान्न बाध्य नहुने चेतावी दिएका छन् । ‘हामीलाई बाइपास गरेर गरेको सहमित मान्दैनौं, गठबन्धन गर्ने हो भने सम्मानजनक हैसियतमा राख्नुपर्‍यो, अन्यथा हामी मान्ने पक्षमा छैनौं’–उपाध्यक्ष भट्टले भने ।

यस्तै जिल्ला सचिव विनोद शर्माले सबै दललाई आवश्यक परेरै गठबन्धन गर्नु परेको स्मरण गराउँदै सचिव शर्माले जसपाको सबै पालिकाहरुमा संगठन रहेकाले सम्मानजनक हैसियत दिनुपर्ने बताए । ‘गठबन्धनको नाममा आत्मसमर्पण गरि लत्रेर लुरु लुरु गठबन्धनको नाममा पछि पछि लाग्न हामी बाध्य छैनौं, हामी आफ्नै बलबुताले चुनावी मैदानमा उत्रिएर जनताको अभिमत स्वीकार गछौं’–सचिव शर्माले भने ।
उनले एक्लै निर्वाचन लड्न जित्न नसकेपनि हार र जित गराउन निर्णायक हुने दावी गरे । दुरदर्शी नेता डा.बाबुराम भट्टराईको नेतृत्वमा जसपा रहेको भन्दै सचिव शर्माले चितवनबासीको रोजाई नै जसपा भएको दावी गरे ।

यस्तै जसपा भरतपुर महानगर कमिटी उपाध्यक्ष दुर्गा पन्तले सम्मानजनक तालमेल नभए केन्द्रीय नीति अनुसार नै मित्रवत प्रतिस्पर्धा गर्न तयार रहेको बताइन् । उनले भरतपुर महानगरपालिकाको मेयर र उपमेयरसहित सबै वडामा उम्मेद्वारी दिन सकिने भन्दै जसपालाई कम नआक्न आग्रह गरिन् । ‘हामीलाई धेरै भागबण्डा चाहिएको होइन, सम्मानजनक हैसियत दिनुपर्‍यो भन्ने हो’–पन्ते भनिन् ।

    सम्बन्धित समाचार...