१५ बैशाख २०८१, शनिबार

अर्थतन्त्र सुधारका लागि एकीकृत प्रयासमा अर्थशास्त्रीहरूको जोड

IMG 6786 1024x769 1

अर्थशास्त्रीहरूले देशको अर्थतन्त्र सङ्कटग्रस्त हुन नदिन निजी क्षेत्रको सहयोगमा सरकारले विभिन्न  सुधारका काम अघि बढाउनु आवश्यक भएकोमा  जोड दिनु भएको छ ।

नेपाल बुद्धिजीवी परिषद्ले आज काठमाण्डौमा आयोजना गरेको अर्थतन्त्रमा देखिएका समस्या र समाधानका उपायहरू विषयक अन्तरक्रिया कार्यक्रममा वक्ता अर्थशास्त्रीहरूले समयमा समाधानको पहल नगरे नेपालको अर्थतन्त्र सङ्कटमा पर्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अर्थतन्त्रका अधिकांश सूचकहरूले खतराको सङ्केत गरेकोले सुधारका लागि निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिनु भयो ।

नेता ज्ञवालीले सरकारलाई फजुल खर्च रोक्न, विलासिताका वस्तु आयातमा नियन्त्रण गर्न, पुँजीगत खर्च बढाउन, र राष्ट्र बैङ्क माथिको हस्तक्षेप रोक्न आग्रह आग्रह गर्नु भयो । 

कार्यक्रममा बोल्दै पूर्व गभर्नर तथा योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले देशमा बेरुजुको मात्रा बढेको, सुशासन कायम हुन नसकेको, पुँजीगत खर्च नबढेको भन्दै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न अर्थ मन्त्रालय र राष्ट्र बैँकबीच प्रभावकारी समन्वय हुनु पर्नेमा जोड दिनुभयो ।

collage 2

यसैगरी पूर्व अर्थसचिव रामेश्वर खनालले वैदेशिक ऋण लिएर निर्माण शुरु गरिएका आयोजनालाई समयमा नै प्रतिफल दिने बनाउन नसकेमा  अर्थतन्त्र थप समस्यामा पर्ने उल्लेख गर्नु भयो ।

यसैगरी राष्ट्र बैङ्कका पूर्व गभर्नर डा. तिलक रावलले राज्यले नै तस्करीलाई प्रोत्साहन गरेको आरोप लगाउँदै विलासिताका सामान आयातलाई रोकेर निर्यात बढाउनुपर्ने बताउनु भयो । 

नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले समाजवादी अर्थतन्त्र निर्माणका लागि पार्टी भन्दा माथि उठेर बौद्धिक हस्तक्षेप गर्नुपर्नेमा जोड दिनु भयो । 

कार्यक्रममा नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठले विगत ८ महिनाको अवधिमा सुनको आयात ९९ प्रतिशत अर्थात् ३२ अर्ब ६७ करोड बराबरको भएको र पेट्रोलियम पदार्थको आयात मात्र ९१ प्रतिशतले बढेको बताउनु भयो ।

    सम्बन्धित समाचार...