८ बैशाख २०८१, शनिबार

डराएर जानुपर्ने कांग्रेसकाे स्थितिलाई अन्त्य गराैं : गगन थापा

Gagan Thapa 1
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस कम्युनिष्ट पार्टीहरुसँग डराएर जानुपर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ । बुधवार नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालको राजनीतिमा कम्युनिष्टहरुको द्वेध चरित्र वारम्वार देखिएकाले अहिले काँग्रेसले त्यसलाई बिर्सिएर तालमेल गर्नु उचित नहुने बताउनुभयो ।

महामन्त्री थापाले काँग्रेससँग रहेका ३२ लाख मतदाता भन्दा माथि बढाउन नसक्ने सोचाइ राखेर अघि बढ्ने हो भने हरेक पटक नेपाली काँग्रेस कम्युनिष्टहरुसँग डराएर बस्नुपर्ने बाध्यता सिर्जना हुने बताउनुभयो । उहाँले यदी सबै क्षेत्रमा काँग्रेस हार्छ भन्ने सोचाइले अघि बढेमा बारम्बार कम्युनिष्ट पार्टीहरुले तर्साउने बताउनुभयो ।

महामन्त्री थापाले कुनैपनि ठाउँमा तालमेल गर्ने कि नगर्ने भनेर निर्णय गर्ने हक र अधिकार महानगर र उपमहानगरको सम्बन्धमा केन्द्रीय समितिसँग भएको र बाँकी सबै ठाउँको अधिकार, जिल्ला र त्यो भन्दा तलका तहलाई अधिकार दिएको बताउनुभयो ।

ढिलोचाँडो नेपालका कम्युनिष्टहरू एक हुने भन्दै महामन्त्री थापाले नेपालका सबै कम्युनिष्टहरू एकै ठाउँमा हुँदा पनि एक्लै चुनाव लड्न सक्ने काँग्रेस बनाउने आफ्नो लक्ष्य रहेको बताउनुभयो ।