२४ बैशाख २०८१, सोमबार

आज बस्दै नेकपा सचिवालय बैठक

NCP secretariat meeting during lockdown

स्थायी कमिटी बैठक बोलाउन आनाकानी गर्दै आएका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार दिउँसो भएको भेटपछि आजको लागी सचिवालय बैठक डाकिएको छ ।

केहि दिनअघी देखी सचिवालय बैठक बस्ने भनिएपनि नेताहरु गुटगत छलफलमा व्यस्त भएपछि बैठक अनिश्चित भएको थियो।

सचिवालय सदस्य एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जनाए अनुसार बैठक आज बेलुकी ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । उनकाअनुसार बैठकले आन्तरिक विवादबारे छलफल गर्नुका साथै स्थायी कमिटीको बैठक बोलाउनेछ। ‘सचिवालय बैठकले तुरुन्तै स्थायी कमिटीको बैठक बोलाउँछ’, नेता खनालले भने, ‘अहिले देखिएका सबै विवाद स्थायी कमिटीबाटै समाधान गर्नुपर्छ।’

अध्यादेश प्रकरणसँगै नेकपामा चुलिएको विवाद समाधानका लागि छलफल आवश्यक रहेको र त्यसका लागि बैठक बोलाउनु पर्ने माग सचिवालय सदस्यहरुले गर्दै आएका थिए।

ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार भएको अनौपचारिक वार्तामा मंगलबार सचिवालय बैठक बोलाउन सहमति भएपनि सोमबार ओलीले प्रचण्डलाई मात्रै बोलाएर छलफल गरेका थिए।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्ष ओलीबाट कम्तीमा पनि प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा पद खोस्ने रणनीतिमा छन्। तर ओलीपक्ष भने माधव नेपाल समूहलाई फकाएर अघि बढ्न लागिपरेको छ। त्यसो नहुँदा संसदीय दलमा बहुमत पु¥याउने कसरत पनि ओली पक्षले गरिरहेको छ।