१२ बैशाख २०८१, बुधबार

रुपरंग फेर्ने नेपालका कम्युनिस्ट कुन बेला कोसँग मिल्छन् थाहा हुँदैन: गगन थापा

gagan 2
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कम्युनिस्ट मिल्छन् भन्ने डरमा कांग्रेस रहन नहुने बताएका छन्।

नेविसंघको ५३औं स्थापना दिवसका अवसरमा आयोजित आसन्न स्थानीय निर्वाचनमा नेविसंघको भूमिका र पार्टीको दायित्व विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री थापाले कम्युनिस्ट मिल्छन् र कांग्रेस हार्छ भन्ने डरबाट पार्टी मुक्त हुनुपर्नेमा जोड दिएका हुन्।

‘कांग्रेसका ३०\३२ लाख मतदाता छन् । त्यसमा चित्त बुझाउने होइन । कांग्रेसको मत बढ्दैन भन्ने होइन । हामी निरन्तर कम्युनिस्ट पार्टीको डरमा छौं । डराउने होइन । यसरी अर्को कम्युनिस्ट पार्टी आउँछ । मिले मिल्छन् । उनीहरुलाई छोडिदिउ। अहिले एक्लै लडौं । एकपटक हारौला । फेरि लडौं । जित्छौं । डरमा नेपाली कांग्रेस रहनु हुँदैन,’ उनले भने ।

थापाले ३०औं हजार नयाँ मतदाता आएको भन्दै तीमध्ये ठूलो संख्यामा कांग्रेसतिर जोड्नपर्ने बताए । अरु पार्टीमा विरक्तिएका मतदाता पनि जोड्नुपर्ने र आफ्नो पार्टीलाई ४०\४५ प्रतिशत मतभार लिनसक्ने पार्टीका रुपमा लिएर जानुपर्नेमा उनको जोड छ । ‘त्यसपछि कुनै पनि कम्युनिस्ट पार्टीसँग नडराउने अवस्था बनाउनुपर्छ भन्ने सोच्यौं भने बल्ल हामी ठिक ठाउँमा उभिने छौं । मैले पार्टी बैठकमा यही कुरा राखिरहेको छु,’ उनले भने ।

थापाले कम्युनिस्टमात्रै होइन राजावादीदेखि ढके दलसम्म सबैलाई हराउने ताकत कांग्रेसले राख्ने पनि दाबी गरे । ‘नेपाली कांग्रेसलाई आफ्नो ताकतका आधारमा, आफ्नो शक्तिका आधारमा नेपालको कम्युनिस्ट पार्टीमात्र होइन अहिले क्विन्टल र ढकको कुरा गर्ने, केपी ओलीले भर्खर पत्राचार गरेर परिवार दललाई नछोड्नु, राप्रपा नेपाललाई नछाड्नु भनेका घर दल, परिवार दल, ढके दल गरेर सबै दल एक भएर आए पनि एक्लै परास्त गर्न सक्ने नेपाली कांग्रेस बनाएर छाड्छौं,’ उनले भने ।

त्यो ताकत आफूहरुसँग रहेको थापाले दाबी गरे । ‘एक्लै परास्त गर्न सक्ने ताकत बनाउने सकिन्छ भन्ने अत्मविश्वासलाई मार्ने होइन । हाम्रो भरोसा र आत्मविश्वास जगाउने प्रयत्नमा कम्प्रमाइज गर्ने होइन । त्यो बाटो छाड्ने पनि होइन,’ उनले भने।

नेपालका कम्युनिस्ट पार्टीको रुपरंग फेर्ने प्रवृत्ति देखिइसकेको भन्दै थापाले कुन बेला को सँग मिल्छ थाहा नभएको बताए। यही प्रवृत्तिले कुनै न कुनै दिन एक्लै परास्त गर्ने कांग्रेसको तागत बनाउने आफूहरुको अभियानसँग नेतृत्व सहमत हुने उनको विश्वास छ।

‘हामीले भनेको यहीँ बाटो कांग्रेसलाई आफ्नै तागतका आधारमा जानुपर्ने रहेछ । यसले धोका दियो, उसले धोका दियो भन्ने अवस्था आउँछ । रंग बदल्छन्। त्यसका निम्ति हामीले अहिले देखि नै आफूलाई तयार गर्नुपर्नेछ,’ उनले भने, ‘हामीले अरुलाई छाड्ने होइन । आफ्नो जनमतलाई छाड्ने पनि होइन। त्यसका निम्ति पार्टीलाई तयार गर्दै जाने हो। सँगसँगै पार्टीका समस्याहरु, विविध समयमा विविध समस्याहरु पनि, विविध मतहरुलाई पनि ख्याल गर्नुपर्छ।’ थापाले नगरपालिका र गाउँपालिकाको चुनावी तालमेलमा केन्द्रबाट हस्तक्षेप भएकोमा विरोध जनाए । ‘कांग्रेसभित्र निर्णयको प्रयोग गर्ने क्रममा स्थानीय तहले तालमेलको आवश्यकता\औचित्यता छ कि छैन भनेर भन्न पायो कि पाएन ? पोखरा, इटहरी, भरतपुर, विराटनगरमा जहाँसुकै होस्, भन्न पायो कि पाएन?’ उनले प्रश्न गरे।

थापाले थपे, ‘दोलखा र दार्चुलाका साथीहरुले आफै निर्णय गर्नुभयो। यो यो कारणले गठबन्धन गर्न सकिँदैन भने। पार्टीले स्थानीय तहलाई नै अधिकार दियो। अधिकार दिएपछि हामीले त्यो हक प्रयोग गर्न दियौं कि दिएनौं? आजको महत्वपूर्ण प्रश्न हो। देशभर छलफल रहेका कांग्रेसका साथीहरुलाई म यो हक र अधिकार प्रयोग गर्न आग्रह गर्छु।’

केन्द्रीय कमिटीको निर्णय कुनै पनि पालिकामा तालमेल गर्ने निर्णय गर्ने अधिकार जिल्ला प्रदेशलाई दिएर पठाइएको भन्दै थापाले पार्टीको हितमा के मा छ भनेर गर्न पाउनुपर्नेमा जोड दिए । उनले निर्वाचनमा पार्टीको निर्णय मानेर अघि बढ्न कार्यकर्तालाई आग्रह गरे ।