१६ चैत्र २०८०, शुक्रबार

पुनः रेनु दाहाललाई सत्तागठबन्धनबाट भरतपुर महानगरको मेयर

renu dahal
फाइल फोटो

आसन्न स्थानीय तहको निर्वाचनमा सत्तागठबन्धनबाट भरतपुर महानगरपालिकाको मेयर उमेद्वार रेनु दाहाल हुने पक्का भएको छ । गठबन्धनको मंगलबार बसेको बैठकले भरतपुर महानगरपालिका नेकपा (माओवादी केन्द्र)लाई दिने सहमति भएको थियो ।

सोही निर्णय अनुसार माओवादी केन्द्र चितवनले मेयरमा पुनः रेनु दाहाललाई उठाउने भएको छ । दाहाल माओवादीबाट निर्विकल्प उम्मेद्वार हुन् । माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले माओवादीबाट मेयरमा दाहाललाई उम्मेद्वार बनाउने तय भएको नारायणी अनलाइनलाई जानकारी दिए । ‘गठबन्धनको निर्णयसंगै अब हामी औपचारिक रुपमै उम्मेद्वार घोषणा गर्छौ, हाम्रो मेयर उम्मेद्वार रेनु दाहाल नै हो’–अधिकारीले भने ।

मेयर दाहाल २०७४ सालको स्थानीय निर्वाचनमा ४३ हजार १२७ मतका साथ निर्वाचित भएकी थिइन् । उनका प्रतिद्वन्दी नेकपा (एमाले)का देवी प्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेका थिए ।

यसपटकको निर्वाचनमा दाहालको प्रतिद्न्दी एमालेबाट विजय सुवेदी हुनेछन् । एमालेले केहीदिन अघि नै महानगरको उम्मेद्वार टुंगो लगाएको हो ।

गठबन्धनको निर्णय अनुसार भरतपुरको उपमेयर अब नेपाली कांग्रेसले पाउने भएको छ । तर कांग्रेसले कसलाई उम्मेद्वार बनाउछ टुंगो लागेको छैन । यसअघिको निर्वाचनमा उपमेयरमा कांग्रेसबाट पार्वती शाह ठकुरी ४७ हजार १९७ मतका साथ निर्वाचित भएकी थिइन् ।