१३ बैशाख २०८१, बिहीबार

किचलो आ–आफ्ना अडानले तनहुँमा गठबन्धनमा, दुरी बढ्दै दलहरुबीच

gath

तनहुँमा सत्ता गठबन्धन दलबीचको दुरी बढ्दो छ । भागबन्डाको किचलोले केन्द्रमा गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने सहमति भए पनि जिल्लामा सकस देखिएको छ । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच भागबन्डामा सहमति नहुँदा गठबन्धन नहुने सम्भावना बढेर गएको छ । भागबन्डामा दलहरु आ–आफ्नै अडानमा छन् ।

कांग्रेसले अघिल्लो पटकको स्थानीय निर्वाचनमा पाँच वटा स्थानीय तहको प्रमुख उपप्रमुख दुवै पद र एक–एक स्थानीय तहमा प्रमुख र उपप्रमुख मात्रै जित हासिल गरेको थियो । अघिल्लो पटक आफूले जितेको स्थानीय तह कुनै हालतमा नछाड्ने कांग्रेसले अड्डी कसेको छ । त्यसमा पनि कांग्रेसले ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा प्रमुख उपप्रमुख दुवै पद नदिने निष्कर्ष कांग्रेसले निकालेको छ । आँबुखैरेनी गाउँपालिका, भानु नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा भने उपपप्रमुख गठबन्धन दललाई दिन तयार देखिन्छ कांग्रेस ।

माओवादी केन्द्रले पनि अघिल्लो निर्वाचनमा जित हासिल गरेको बन्दीपुर गाउँपालिकासहित शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र घिरिङ गाउँपालिकाको प्रमुख आफूले पाउनुपर्ने अडान राखेको छ । शुक्लागण्डकीमा त पूर्वमन्त्री एवं गण्डकी प्रदेश सभा सदस्य आशा कोइरालालाई मेयर बनाउनलाई सर्वसम्मत निर्णय गरेर माओवादीले बार्गेनिङको चारो फ्याँकेको छ । तनहुँमा बन्दीपुरबाहेक पहिलो प्राथमकिता शुक्लागण्डकी रहेको माओवादीका नेता कार्यकर्ताहरु बताउँछन् ।

एकीकृत समाजवादीले भानु, शुक्लागण्डकी र भिमाद नगरपालिकामा दाबी गरेको हो । तर, व्यासमा उपप्रमुख पाएको खण्डमा शुक्लागण्डकी छाडेर भानुमा पनि उपप्रमुख लिँदै कम्परमाइज गर्ने माओवादीका एक नेताले बताए । समाजवादीले भने भिमाद र देवघाटमा प्रमुख चाहिने शर्त तेर्साएको छ ।

अघिल्लो निर्वाचनमा दोस्रो ठुलो दल भएको हैसितयले भिमादको प्रमुख कांग्रेस आफैँले लिन चाहन्छ । जनता समाजवादी पार्टीले पनि कुनै एक स्थानीय तहको प्रमुख या उपप्रमुख पाउनुपर्ने माग राख्दै आएको छ । भागबन्डाको सकसले सत्तारुढ दलको गठबन्धन टुट्ने सम्भवना बढेर गएको छ । यद्यपि केन्द्रबाट हस्तक्षेप भएको खण्डमा भने गठबन्धन कायम रहने नेताहरु बताउँछन् । त्यस्तो अवस्थामा गठबन्धन दलबीच अन्तरघात हुने सम्भावना बढ्ने देखिन्छ ।

भागबन्डाको टुंगो लगाउन गठबन्धन दल पटक पटक बैठक बसिरहेका छन् । तर, बिना निष्कर्ष टुंगिने गरेको छ । सोमबार पनि गठबन्धन दलको बैठक थियो । बैठक विना निष्कर्ष टुंगिएको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए । पालिकाको भागबन्डा मिलाउन नसक्दा गठबन्धन नहुने सम्भावना बढेर गएको उनले बताए । ‘हामीले पहिला जितेको ठाउँ पनि उहाँहरुले माग्नुभो । हामीले हारेको मध्य पनि एउटा स्थनाीय तह पाउँछौँ होला भन्नेमा थियौँ’, उनले ‍ भने, ‘त्यो नपाएर हामीले जितेको पनि माग्नु भो । तसर्थ गठबन्धन नहोला जस्तो छ ।’ गठबन्धनको प्रयास भने जारी रहेको उनले बताए । ‘सहमति हुन सक्छ । तर गठबन्धन दलबीच दुरी बढ्दै गइरहेको छ’, उनले भने । आ–आफ्नै अडान रहेको खण्डमा गठबन्धन कायम नरहने सचिव खनालले बताए ।

कांग्रेसले अरु दलको साथ नलिइ कहीँ पनि निर्वाचन नजित्ने सत्तारुढ दल एकीकृत समाजवादीको जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठ बताउँछन् । भिमादमा प्रमुखसँगै व्यास र भानुमा उपप्रमुख आफूहरुलाई नदिए गठबन्धन नहुने उनले बताए । अहिलेसम्म भएको छलफल गठबन्धनको मर्म अनुसार नभएको उनको भनाइ छ । एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठ भन्छन्, ‘केन्द्रमा सरकार टिकाउनलाई मात्रै गठबन्धन भएको देखिन्छ ।’ उनले जिल्लामा आफूहरु एक्लै निर्वाचनमा जान तयार रहेको बताए ।

सत्तारुढ दल निर्णायक बिन्दुमा पुग्नलाई केही समय लाग्ने माओवादी केन्द्रकी केन्द्रीय सदस्य आशा कोइराला बताउँछिन् । ‘सबै आफ्नो अडानमा रहँदा निष्कर्षमा नपुगेको हो । गठबन्धनमा सबै दल प्रतिबद्ध छौँ’, उनले भनिन् । चार ओटै पार्टीको जित हुने गरी गठबन्धन हुने उनी बताउँछिन् । समझदारी नै हुन नसकेको खण्डमा भने एक्ला एक्लै भएपनि निर्वाचनमा जानुपर्ने उनको तर्क छ ।