८ बैशाख २०८१, शनिबार

सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस एमालेबाट इलामका चार पालिकामा

ilam uml

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि इलामको चार पालिकामा नेकपा (एमाले)बाट सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका छन् ।

देउमाई नगरपालिका, सूर्योदय नगरपालिका, रोङ गाउँपालिका र माङसेबुङ गाउँपालिकामा पालिका प्रमुख र उपप्रमुख सर्वसम्मत सिफारिस भएका हुन् । उनीहरू जिल्लाबाट प्रदेश कमिटीमा सिफारिस भएका हुन् ।

जिल्लाकै सबैभन्दा ठुलो नगरपालिका सूर्योदयको प्रमुखमा हाल प्रदेशसभा सदस्यसमेत रहेका काजीमान कागते र उपप्रमुखमा वर्तमान उपप्रमुख दुर्गादेवी भट्टराई सिफारिस भएका हुन् ।

कागते अघिल्लो निर्वाचनमा समेत पालिका प्रमुखको आकांक्षी थिए । तर, त्यस बेला उनले टिकट पाएनन् । त्यसपछि उनी प्रदेशसभाको उम्मेदवार भएर निर्वाचित भएका हुन् । एमाले उम्मेदवार बनेका रणबहादुर राई नगरप्रमुखमा निर्वाचित भए । पार्टी विभाजनपछि राई नेकपा (एकीकृत समाजवादी)मा क्रियाशील छन् ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा राईले १२ हजार ९१९ मत पाएका थिए भने कांग्रेसका प्रेमलाल राईले १० हजार ३२९ मत पाएका थिए । यस अघिको निर्वाचनमा माओवादी केन्द्रका राजेन राईले १ हजार ५४१ र संघीय समाजवादी फोरमका लिलाबहादुर सुनुवारले १४७७ मत ल्याएका थिए ।

सत्तारुढ दलहरूबीच गठबन्धन गरेर चुनाव गर्ने निर्णयपछि दलहरू आन्तरिक छलफलमा छन् । त्यसैले सूर्योदयमा कांग्रेसको उम्मेदवार टुङ्गो लागेको छैन । सत्तारुढ दलहरूका बीचमा गठबन्धन गर्ने प्रयास जारी रहेपछि सूर्योदयमा कांग्रेसका १४ ओटै वडाका वडा सभापतिहरूले कसैसँग गठबन्धन नगर्ने घोषणा गरेका छन् ।

एमालेले उपप्रमुखमा हालकी उपप्रमुख दुर्गादेवी भट्टराइलाई नै सिफारिस गरेको छ । सूर्योदय नगर कमिटीकी अध्यक्ष समेत रहेकी भट्टराई २०७४ को निर्वाचनमा १२ हजार ८९० मत ल्याएर उपप्रमुखमा निर्वाचित भएकी थिइन् । पहिलो स्थानीय तहको निर्वाचनमा कांग्रेसकी खगेश्वरी पौडेलले ९ हजार ९२७ मत पाएकी थिइन् । त्यस्तै, तत्कालीन संघीय समाजवादीबाट ख्यामकुमारी राईले १ हजार ७९४ र माओवादी केन्द्रकी टीका राईले १ हजार ६५० मत पाएका थिए ।

यस्तै, इलामको देउमाई नगरपालिकाको प्रमुखमा एमालेबाट सूर्य पोख्रेल सर्वसम्मत सिफारिस भएका छन् । नगरपालिकाको वर्तमान प्रमुख पोख्रेललाई एमालेले दोहोर्‍याउने भएको छ । गत स्थानीय तहको निर्वाचनमा पोख्रेलले प्रमुखमा ७ हजार ३४७ मत पाएर विजयी भएका थिए भने, कांग्रेसका होम दुलालले ६ हजार ३९० मत पाएका थिए । त्यस्तै, नेकपा माओवादी केन्द्रका रामकुमार राईले ९७६ मत प्राप्त गरेका थिए ।

एमालेले देउमाई नगरपालिकाको उपप्रमुखमा पनि पविमाया राईलाई नै दोहोर्‍याउन सिफारिस गरेको छ । पविमाया राईले गत निर्वाचनमा ७ हजार ३८७ मत पाएर उपप्रमुखमा निर्वाचित भएकी थिइन् । कांग्रेसकी उम्मेदवार सूर्यमाया राईले ६ हजार ३९० र माओवादी केन्द्रकी शान्ता बस्नेतले ११९३ मत पाएकी थिइन् ।

एमालेले रोङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा समेत सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । रोङको अध्यक्षमा मेहरमान तामाङ सिफारिस भएका छन् ।

उपाध्यक्षमा विष्णुमाया खवास सिफारिस भएकी छिन् । यस अघिको निर्वाचनमा रोङको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । अध्यक्षमा समशेर राईले ३ हजार ९८५ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भए भने नेकपा एमालेबाट उम्मेदवार बनेका बृहस्पति खतिवडाले ३ हजार ६७२ मत पाएका थिए । खतिवडा भने अहिले नेकपा एसमा क्रियाशील छिन् । अघिल्लो चुनावमा माओवादी केन्द्रका नवराज कट्टेलले ५९१ मत प्राप्त गरेका थिए ।

रोङ गाउँपालिकाको उपाध्यक्षमा विष्णुमाया खवास सिफारिस भएकी छिन् । उनी अघिल्लो निर्वाचनमा उपाध्यक्षमा पराजित भएकी थिइन् । खवासले ३ हजार ६६७ मत ल्याउँदा चन्द्रकला राईले ४ हजार १०२ मत पाएर उपाध्यक्षमा निर्वाचित भइन् । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रकी अञ्जना लेप्चाले ६३० मत प्राप्त गरेकी थिइन् ।

यस्तै माङसेबुङ गाउँपालिकाको अध्यक्षमा एमालेबाट हेमन्त राई सर्वसम्मत सिफारिस भएका छन् । राई अघिल्लो निर्वाचनमा काँग्रेसका डिकेन्द्र इधिङ्गोसंग पराजित भएका थिए । यस अघिको निर्वाचनमा माङसेबुङ गाउँपालिकामा काँग्रेस र तत्कालीन संघीय समाजवादी फोरमकाबीच गठबन्धन भएको थियो । काँग्रेसले प्रमुखमा र संघीय समाजवादी फोरमले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।

एमालेबाट उम्मेदवार बनेका हेमन्त राईले ३ हजार १८१ मत ल्याउँदा कांग्रेसका डिकेन्द्र इधिङ्गोले ३ हजार ७५९ मत प्राप्त गरेर अध्यक्ष निर्वाचित भएका हुन् । माओवादी केन्द्रका दीपेन्द्र बस्नेतले ३११ मत पाएका थिए ।

एमालेले माङसेबुङको उपाध्यक्षमा सुनिता योङहाङलाई नै दोहोर्‍याउन सिफारिस गरेको छ । योङहाङले अघिल्लो निर्वाचनमा काँग्रेस–संघीय समाजवादी फोरम गठबन्धनका विनोद नेम्वाङलाई पराजित गर्दै उपाध्यक्ष निर्वाचित भएकी थिइन् । सुनिता योङहाङले ३ हजार ८९ मत ल्याउँदा गठबन्धनका विनोद नेम्वाङले २ हजार ७७१ मत पाएका थिए । यस्तै माओवादी केन्द्रकी निर्मता राईले ३९० मत पाएकी थिइन् ।

दश स्थानीय तह मध्ये अन्य ६ पालिकामा उम्मेदवार चयनको प्रक्रिया जारी छ । त्यस्तै ८१ वडामध्ये अब १५–१६ ओटा वडाको अध्यक्ष टुङ्गो लगाउन बाँकी रहेको एमाले इलामका सचिव उमेश गुरुङले जानकारी दिए ।