
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि इलामको चार पालिकामा नेकपा (एमाले)बाट सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका छन् ।
देउमाई नगरपालिका, सूर्योदय नगरपालिका, रोङ गाउँपालिका र माङसेबुङ गाउँपालिकामा पालिका प्रमुख र उपप्रमुख सर्वसम्मत सिफारिस भएका हुन् । उनीहरू जिल्लाबाट प्रदेश कमिटीमा सिफारिस भएका हुन् ।
जिल्लाकै सबैभन्दा ठुलो नगरपालिका सूर्योदयको प्रमुखमा हाल प्रदेशसभा सदस्यसमेत रहेका काजीमान कागते र उपप्रमुखमा वर्तमान उपप्रमुख दुर्गादेवी भट्टराई सिफारिस भएका हुन् ।
कागते अघिल्लो निर्वाचनमा समेत पालिका प्रमुखको आकांक्षी थिए । तर, त्यस बेला उनले टिकट पाएनन् । त्यसपछि उनी प्रदेशसभाको उम्मेदवार भएर निर्वाचित भएका हुन् । एमाले उम्मेदवार बनेका रणबहादुर राई नगरप्रमुखमा निर्वाचित भए । पार्टी विभाजनपछि राई नेकपा (एकीकृत समाजवादी)मा क्रियाशील छन् ।
२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा राईले १२ हजार ९१९ मत पाएका थिए भने कांग्रेसका प्रेमलाल राईले १० हजार ३२९ मत पाएका थिए । यस अघिको निर्वाचनमा माओवादी केन्द्रका राजेन राईले १ हजार ५४१ र संघीय समाजवादी फोरमका लिलाबहादुर सुनुवारले १४७७ मत ल्याएका थिए ।
सत्तारुढ दलहरूबीच गठबन्धन गरेर चुनाव गर्ने निर्णयपछि दलहरू आन्तरिक छलफलमा छन् । त्यसैले सूर्योदयमा कांग्रेसको उम्मेदवार टुङ्गो लागेको छैन । सत्तारुढ दलहरूका बीचमा गठबन्धन गर्ने प्रयास जारी रहेपछि सूर्योदयमा कांग्रेसका १४ ओटै वडाका वडा सभापतिहरूले कसैसँग गठबन्धन नगर्ने घोषणा गरेका छन् ।
एमालेले उपप्रमुखमा हालकी उपप्रमुख दुर्गादेवी भट्टराइलाई नै सिफारिस गरेको छ । सूर्योदय नगर कमिटीकी अध्यक्ष समेत रहेकी भट्टराई २०७४ को निर्वाचनमा १२ हजार ८९० मत ल्याएर उपप्रमुखमा निर्वाचित भएकी थिइन् । पहिलो स्थानीय तहको निर्वाचनमा कांग्रेसकी खगेश्वरी पौडेलले ९ हजार ९२७ मत पाएकी थिइन् । त्यस्तै, तत्कालीन संघीय समाजवादीबाट ख्यामकुमारी राईले १ हजार ७९४ र माओवादी केन्द्रकी टीका राईले १ हजार ६५० मत पाएका थिए ।
यस्तै, इलामको देउमाई नगरपालिकाको प्रमुखमा एमालेबाट सूर्य पोख्रेल सर्वसम्मत सिफारिस भएका छन् । नगरपालिकाको वर्तमान प्रमुख पोख्रेललाई एमालेले दोहोर्याउने भएको छ । गत स्थानीय तहको निर्वाचनमा पोख्रेलले प्रमुखमा ७ हजार ३४७ मत पाएर विजयी भएका थिए भने, कांग्रेसका होम दुलालले ६ हजार ३९० मत पाएका थिए । त्यस्तै, नेकपा माओवादी केन्द्रका रामकुमार राईले ९७६ मत प्राप्त गरेका थिए ।
एमालेले देउमाई नगरपालिकाको उपप्रमुखमा पनि पविमाया राईलाई नै दोहोर्याउन सिफारिस गरेको छ । पविमाया राईले गत निर्वाचनमा ७ हजार ३८७ मत पाएर उपप्रमुखमा निर्वाचित भएकी थिइन् । कांग्रेसकी उम्मेदवार सूर्यमाया राईले ६ हजार ३९० र माओवादी केन्द्रकी शान्ता बस्नेतले ११९३ मत पाएकी थिइन् ।
एमालेले रोङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा समेत सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । रोङको अध्यक्षमा मेहरमान तामाङ सिफारिस भएका छन् ।
उपाध्यक्षमा विष्णुमाया खवास सिफारिस भएकी छिन् । यस अघिको निर्वाचनमा रोङको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । अध्यक्षमा समशेर राईले ३ हजार ९८५ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भए भने नेकपा एमालेबाट उम्मेदवार बनेका बृहस्पति खतिवडाले ३ हजार ६७२ मत पाएका थिए । खतिवडा भने अहिले नेकपा एसमा क्रियाशील छिन् । अघिल्लो चुनावमा माओवादी केन्द्रका नवराज कट्टेलले ५९१ मत प्राप्त गरेका थिए ।
रोङ गाउँपालिकाको उपाध्यक्षमा विष्णुमाया खवास सिफारिस भएकी छिन् । उनी अघिल्लो निर्वाचनमा उपाध्यक्षमा पराजित भएकी थिइन् । खवासले ३ हजार ६६७ मत ल्याउँदा चन्द्रकला राईले ४ हजार १०२ मत पाएर उपाध्यक्षमा निर्वाचित भइन् । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रकी अञ्जना लेप्चाले ६३० मत प्राप्त गरेकी थिइन् ।
यस्तै माङसेबुङ गाउँपालिकाको अध्यक्षमा एमालेबाट हेमन्त राई सर्वसम्मत सिफारिस भएका छन् । राई अघिल्लो निर्वाचनमा काँग्रेसका डिकेन्द्र इधिङ्गोसंग पराजित भएका थिए । यस अघिको निर्वाचनमा माङसेबुङ गाउँपालिकामा काँग्रेस र तत्कालीन संघीय समाजवादी फोरमकाबीच गठबन्धन भएको थियो । काँग्रेसले प्रमुखमा र संघीय समाजवादी फोरमले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।
एमालेबाट उम्मेदवार बनेका हेमन्त राईले ३ हजार १८१ मत ल्याउँदा कांग्रेसका डिकेन्द्र इधिङ्गोले ३ हजार ७५९ मत प्राप्त गरेर अध्यक्ष निर्वाचित भएका हुन् । माओवादी केन्द्रका दीपेन्द्र बस्नेतले ३११ मत पाएका थिए ।
एमालेले माङसेबुङको उपाध्यक्षमा सुनिता योङहाङलाई नै दोहोर्याउन सिफारिस गरेको छ । योङहाङले अघिल्लो निर्वाचनमा काँग्रेस–संघीय समाजवादी फोरम गठबन्धनका विनोद नेम्वाङलाई पराजित गर्दै उपाध्यक्ष निर्वाचित भएकी थिइन् । सुनिता योङहाङले ३ हजार ८९ मत ल्याउँदा गठबन्धनका विनोद नेम्वाङले २ हजार ७७१ मत पाएका थिए । यस्तै माओवादी केन्द्रकी निर्मता राईले ३९० मत पाएकी थिइन् ।
दश स्थानीय तह मध्ये अन्य ६ पालिकामा उम्मेदवार चयनको प्रक्रिया जारी छ । त्यस्तै ८१ वडामध्ये अब १५–१६ ओटा वडाको अध्यक्ष टुङ्गो लगाउन बाँकी रहेको एमाले इलामका सचिव उमेश गुरुङले जानकारी दिए ।