१५ चैत्र २०८०, बिहीबार

पर्यटन मन्त्रीको विमानस्थल चुस्त दुरुस्त बनाउन निर्देशन

prem ale

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालका विमानस्थललाई थप विकसित बनाई चुस्त दुरुस्त अवस्थामा राख्न निर्देशन दिनुभएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को बोर्ड सदस्यमा नियुक्त हुनुभएका दुई सदस्यलाई आज बोर्ड बैठकमा स्वागत गर्दै उहाँले विमानस्थललाई थप सुरक्षित तथा चुस्त दुरुस्त अवस्थामा राख्न निर्देशन दिनुभयो ।

नयाँ नियुक्त हुनुभएका सदस्यमा पूर्व महानिर्देशक त्रिरत्न मानन्धर तथा रोशना चित्रकार हुनुहुन्छ । प्राधिकरणको बोर्ड सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका मन्त्री आलेले नवनियुक्त सदस्यसहित सबै पदाधिकारीलाई नागरिक उड्डयन प्राधिकरणको हितका लागि काम गर्न निर्देशन दिनुभयो ।

यसैगरी मन्त्री आलेले पछिल्लो समय नेपालका विभिन्न विमानस्थलमा जङ्गली जनवार बँदेल, स्याल छिर्ने तथा जहाज सञ्चालनमा समस्या हुने गरेको भन्ने सुनिएकाले विमानस्थलका पेरिमिटरमा नियमित गस्ती गर्न थप टोली परिचालन गर्न आग्रह गर्नुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको उडान अवतरणमा ढिलाइ हुने तथा केही दिन पहिलेको भिजिबिलिटीका कारण उडान अवतरणमा समस्या भएको विषयमा ट्विटरमा विभिन्न कमेन्ट आएकाले त्यस्ता ट्विटरको तत्काल रेस्पन्स तथा उत्तर दिनका लागि एक छुट्टै कर्मचारी खटाउन तथा ट्विटरको तत्काल उत्तर दिन पनि मन्त्री आलेले निर्देशन दिनुभयो । रासस