१४ बैशाख २०८१, शुक्रबार

असन्तुष्टि कायमै, चार पूर्वमन्त्री देखिएनन् एकीकृत समाजवादीको स्थापना दिवस कार्यक्रममा

cpn unified socialist party samajbadi

एकीकृत समाजवादीमा चार मन्त्री फिर्ता प्रकरण भुसको आगो झैं झन् झन् गढिँदै गएको पाइएको छ । पार्टीको पहिलो स्थापना दिवस कार्यक्रममा चार पूर्वमन्त्री उपस्थित नहुनुले यो प्रकरण अझै सेलाउन नसकेको देखिएको हो ।

एकीकृत समाजवादीले बिहीबार पहिलो स्थापना दिवस मनाएको छ । काठमाडौंमा पार्टी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पार्टीबाट मन्त्री भएका चारजना कतै देखिएनन् ।

पूर्वमन्त्री रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र किसान श्रेष्ठ स्थापना दिवस कार्यक्रममा सहभागी नभएका हुन् । उनीहरू कार्यक्रममा नदेखिनुको कारण मन्त्रीबाट हटाएपछिको असन्तुष्टि बुझिएको छ । झाँक्री पार्टी सचिवसमेत हुन् ।

एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादीले गत वर्ष आजकै दिन पार्टी दर्ताको प्रमाणपत्र पाएको थियो ।

एकीकृत समाजवादी अध्यक्षमा माधवकुमार नेपाल र सम्माननित नेतामा झलनाथ खनाल छन् । सो पार्टीमा पदाधिकारी १७ जना छन् ।