१६ चैत्र २०८०, शुक्रबार

महानगर नेतृत्वमा महिला आकांक्षी

hariprabha khadgi

केही स्थानबाहेक उप प्रमुखमा मात्र सीमित महिला नेतृ अहिले स्थानीय पालिकाको प्रमुखकै लागि अघि बढेका छन् । प्रमुख पदमा आकांक्षी महिलाहरुलाई राजनीतिक दलहरुले कसरी सम्बोधन गर्छन्, समयक्रममा देखिँदै जाला । संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकामा पनि महिलाहरुले नेतृत्वको आकांक्षा राखेका छन् ।

स्थानीय तह निर्वाचनका लागि एक महिना मात्र समय छ । अहिले दलहरु उम्मेदवार टुंग्याउने बहसमा जुटेका बेला प्रमुख पद आफूले पाउनुपर्ने महिला नेतृहरुको दाबी छ ।

काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसकातर्फबाट महासमिति सदस्य श्रृजना सिंहको दाबी रहेको छ । त्यस्तै हालकी उपमेयर हरिप्रभा खड्गीले पनि कांग्रेसकैतर्फबाट मेयरको दाबी गर्नुभएको छ । ५ वर्ष उपमेयरको जिम्मेवारी सम्हालेकी खड्गी महानगरपालिकाको नेतृत्वमा जो कोही भएपनि अब महिला नै आउनुपर्ने बताउनुहुन्छ ।

काठमाडौं महानगरको मेयरमा आफ्नो भन्दा पनि पारिवारिक राजनीतिक पृष्ठभूमि बलियो भएका कारण आकांक्षी देखिएकी कांग्रेस संस्थापक नेता गणेशमान सिंहकी बुहारी तथा कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुनुहुन्छ ।

उहाँले औपचारिकरुपमै आफ्नो दाबी पेश गर्नुभएको त छैन, तर उहाँले पार्टीभित्र इच्छा राख्नुभएको छ । कांग्रेस मात्र होइन, वैकल्पिक शक्तिका रुपमा आफूलाई प्रस्तुत गर्दै आएको विवेकशील साझाकातर्फबाट समीक्षा बाँस्कोटाले पनि मेयरको प्रतिष्पर्धामा उत्रिने इच्छा देखाउनुभएको छ । आफू घोषणापत्रसहित मेयरको दाबीमा उत्रिने बाँस्कोटाको भनाइ रहँदै आएको छ ।

अर्कोतर्फ स्वतन्त्र उम्मेदवार बन्ने गरी मिस नेवा भइसकेकी सुनिता डंगोल पनि आकांक्षी हुनुहुन्छ । उहाँले काठमाडौं महानगरलाई व्यवस्थित बनाउन आफ्नो उम्मेदवारी रहने बताउँदै आउनुभएको छ । उहाँ विचार र सिद्धान्त मिल्ने दलसँग आवद्ध रहने संकेत गर्न पनि पछि पर्नुभएन ।

एमालेमा भने मेयरमा महिलाको आकांक्षी देखिएका छैनन् । एमालेकातर्फबाट एमालेमा पूर्वमेयर केशव स्थापित र मेयर विद्यासुन्दर शाक्यको चर्चा चलेको छ ।