१२ बैशाख २०८१, बुधबार

कट्टर समर्थकको विचल्ली, मेयर नपाएपछि रुँदैरुँदै पार्टी छोडेको घोषणा

Dilliram Ghimire

स्थानीय तहको निर्वाचन आउन अब करिब एक महिना बाँकी छ । उम्मेद्वारी छनोटको अन्तिम कसरतमा राजनीतिक नेतृत्व छ । ठिक यसैबेला स्थानीय तहमा रुवाबासी चलिरहेको छ ।

मेयरमा टिकट नपाएपछि झापाका एमाले नेताले रुँदैरुँदै पार्टी छोडेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कट्टर समर्थक भनेर चिनिन्थ्ये डिल्लीराम घिमिरे ।

ओलीको अन्धभक्त जस्तै बनेर ३१ बर्षदेखि एमालेमा रहेर राजनीतिक गरेका उनी पार्टी विभाजन हुँदा माधव नेपालतिर गएनन् । तर तीनदशक पार्टीमा बिताएर ६५ बर्षको उमेरमा मंगलबार रुँदैरुँदै पार्टीछोडेको घोषणा गरे ।

उनको यो रुवाईउमेरहदका कारणले पार्टी राजनीतिबाट अवकाश लिएर वा नेतृत्व पुस्तान्तरण गरेर पार्टी छोड्दाको होइन,टिकट नपाएपछिको भने पक्कै हो ।

https://fb.watch/clpyxDDC5y/

खासमा भएको के हो भने, उनी झापाको मेचीनगर नगरपालिकाको मेयर बन्न चाहन्थ्ये । मेयर बन्ने चरम आकांक्षा पालेका घिमिरेलाई पार्टीले उम्मेद्वार सिफारिसमै नपारेपछि जिल्ला कमिटी सदस्यसमेत त्यागेर उनले पार्टी छाडेका घोषणा गरेका हुन् ।

सहकर्मीहरुले पटकपटक आफूमाथि अन्याय गर्दै अवसरबाट वञ्चित गर्ने र घेराबन्दीमा पार्ने काम गरेको आरोप लगाएका उनले पत्रकार सम्मेलनमै आँसु खसालेर भने, ‘मलाई पार्टीका नेताहरुले रुहाउँदै रुहाउँदै निष्काशन गरे, म आफैं निस्किएको हैन, निस्किन बाध्य पारेका हुन ।’

मेची नगरमा एमालेबाट घिमिरेसहित ७ सातजना मेयरको प्रतिस्पर्धामा थिए । त्यसमा प्रदेश सांसदसमेत रहेका गोपाल बुढाथोकीलाई एकाएक मेयर बन्ने रहर पलाएपछि एमालेको स्थानीय नेतृत्वले अरुलाई पाखा लगाएर प्रदेश सांसदलाई च्यापेकोप्रतिअरुले चित्त दुखाएका छन् ।

एकपटक प्रदेश सांसद भएको व्यक्ति स्थानीय नेताको अधिकार खोस्ने गरि मेयरमा दाबी गरेको अन्य आकांक्षीको आरोप छ ।तर उम्मेद्वार सिफारिसमा जित्न सक्ने व्यक्ति छानिएको एमाले नेताहरु बताउँछन् ।सात जनामध्ये बलियोलाई उम्मेद्वार बनाउन भोटिङ गरिएको थियो ।

५७६ मतमध्ये सांसद बुढाथोकीले ३७८ मत ल्याउँदा घिमिरेले १२ मत मात्रै ल्याएको भन्दै सिफारिसमा नपरेको एमाले नेता विष्णु प्रसाईँले बताएका छन् ।

स्थानीय तहको निर्वाचन आउन अबमात्रै एक महिना बाँकी छ । शहर बजारदेखि गाउँ टोलसम्म मेयरका आकांक्षीहरुको रुवाबासी चलिरहेको छ ।

नेतृत्वकै वरिपरि घुमेर, साम, दाम, दण्डभेद् प्रयोग गरेर जसरी पनि मेयर प्राप्ति गर्ने अन्तिम लक्ष्य नेताहरुले बनाएका छन् । यसका लागि पार्टी छोड्ने मात्रै होइन, पार्टी फेरबदलनै चलिरहेको छ ।

केन्द्रको मन्त्री बनेका लालबाबु पण्डित जस्ता व्यक्ति पनि मेयरकै आकांक्षी बनेका छन् । पूर्वप्रधानमन्त्री रहेका बाबुराम भट्टराई जस्ता चर्चाभोगी नेताहरु पनि मेयर बन्ने नाममा सामाजिक सञ्जाल भरि छाइरहेका छन् ।

मुख्यतः राजनीतिक दलहरुले आफ्नो हितभन्दामाथि उठेर उम्मेदवार चयनको दलीय परिधिलाई खुला राख्न नसक्दा स्थानीय तहको निर्वाचन विकृति अभ्यासमा गइरहेको छ ।