१२ बैशाख २०८१, बुधबार

सात आधारहरु तय, साझा उम्मेदवार छनौट गर्न सत्तारुढ गठबन्धनभित्र

Gathabandhan 3
फाइल फोटो

सत्तारुढ गठबन्धनले साझा उम्मेदवार तय गर्न सात आधारहरु बनाएको छ।

गठबन्धनको मंगलबार बालुवाटारमा बसेको बैठकले साझा उम्मेदवार तय गर्न सात आधारहरु बनाएको हो ।

सोही आधारमा रहेर आगामी वैशाख ५ गतेसम्म उम्मेदवारको सूची पठाउन पनि उच्चस्तरीय राजनीतिक संयन्त्रले निर्देशन दिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा पाँचै दलका प्रतिनिधि रहेको बैठकले पाँचदलीय गठबन्धनबीच सीट बाँडफाँट गर्ने सहमति गरेको छ। महानगर र उपमहानगरका प्रमुख र उपप्रमुखको उम्मेदवार केन्द्रीय संयन्त्रले टुंगो लगाउने छ भने अध्यक्ष र उपाध्यक्षको सिट बाँडफाँट गरी वैशाख ३ गते जिल्लाले प्रदेशलाई र वैशाख ५ गते प्रदेशले केन्द्रमा पठाउने भनिएको छ।

त्यस्तै, वडाको टुंगो जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र लगाउने निर्देशन पनि संयन्त्रले दिएको छ।

प्रदेश र जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित २÷२ प्रतिनिधि रहने तथा प्रत्येक तहको संयन्त्रमा निर्णय लिन आवश्यकताअनुसार दलहरुले प्रतिनिधि आमन्त्रण गर्नसक्ने निर्णय पनि गरिएको छ।

सबै तहको बैठकको संयोजन नेपाली कांग्रेसका प्रमुखले गर्ने पनि निर्णयमा उल्लेख छ।

त्यस्तै, बैठकले गठबन्धनभित्र सिट बाँडफाँटका सात आधारहरु तय गरेको छ ः

१ २०७४ सालमा विजयी माओवादी र समाजवादीका जनप्रतिनिधिलाई यसैअनुसार मान्ने।

२ २०७४ सालको निर्वाचनमा पाएको मतको मतभार।

३ २०७४ सालमा विजयी नभएका अन्य दललाई पनि यथासक्य सहभागी गराउने।

४ गठबन्धनबाहेक अन्य दल निर्वाचित स्थानमा गठबन्धनका दलले पाएको मतलाई आधार बनाउने। उक्त दलले पाएको मतभारलाई पनि आधार बनाउने।

५ समाजवादीको हकमा बुँदा ४ मा उल्लेखित आधारबाहेक ऊ मुख्य शक्ति रहेको यथार्थलाई मनन गर्ने।

६ जनसमर्थनलाई पनि ध्यान दिने।

७ चुनावी तालमेल गठबन्धनबीच मात्र हुने।