१६ चैत्र २०८०, शुक्रबार

सिट बाँडफाँटका आधार यस्ता छन् गठबन्धनभित्र: सात मापदण्ड

Gathabandhan 3

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूले उम्मेदवारको सिट बाँडफाँटका विभिन्न मापदण्ड तय गरेका छन् ।

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रले सिट बाँडफाँटका आधार तय गरेको हो । बैठकले गरेका निर्णयबारे कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराएका थिए ।

यस्ता छन् गठबन्धनभित्र सिट बाँडफाँटका आधार

(१) २०७४ को निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा (एकीकृत समाजवादी) कायम रहेका जनप्रतिनिधिहरुलाई यसैअनुसार मान्ने ।

(२) २०७४ को निर्वाचनमा दलका उम्मेदवारहरुले पालिका, वडामा प्राप्त गरेको मतको मतभारलाई आधार मान्ने ।

(३) २०७४ को स्थानीय तह निर्वाचनमा विजय प्राप्त गरेको नभए पनि स्थानीय तहमा उपस्थिति रही यथाशक्य गठबन्धनभित्र अन्य दललाई पनि सहभागी गराउने ।

(४) २०७४ को स्थानीय तह निर्वाचनमा गठबन्धनबाहेकका दल विजयी स्थानमा गठबन्धनभित्रका दलहरुले उक्त निर्वाचनमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने । यसको साथै उक्त तहमा दलका उम्मेदवारहरुले प्राप्त गरेको मतभारलाई पनि आधार बनाउने ।

(५) नेकपा (एकीकृत समाजवादी) २०७४ को निर्वाचनमा पार्टीको रुपमा सहभागी नभएको हुँदा माथि बुँदा नम्बर ४ मा उल्लेखित आधारहरुले मात्र नहुने र उक्त पार्टी नेकपा (एमाले) विभाजित भएर बनेको मुख्य शक्ति रहेको यथार्थतालाई मनन गर्ने ।

(६) गठबन्धनमा रहेका दलहरुबीच सिट बाँडफाँट गर्दा माथि उल्लेखित आधारहरुका अतिरिक्त वर्तमान समयमा गठबन्धनका दलहरुको संगठनात्मक अवस्था र जनसमर्थनलाई पनि महत्वका साथ ध्यान दिने ।

(७) गठबन्धनभित्र रहेका दलहरुबीच मात्रै चुनावी तालमेल गर्न पाउने ।