१४ बैशाख २०८१, शुक्रबार

छोरी सुरक्षा कार्यक्रम: जुम्लाका २२ सय बढी छोरीको नाममा बैङ्क खाता

jumla chhori

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ बाट सञ्चालन गरेको छोरी सुरक्षा कार्यक्रममा जुम्लाका २ हजार २ सय ६५ जना छोरीको नाममा बैङ्क खाता खोलिएको छ ।

२०७६ साउन १ गतेपछि जन्मिएका छोरीहरूको बैङ्क खाता खोलिएको हो । जसमा बितेको ३ वर्षमा २ हजार २ सय ६५ छोरीको नाममा बैक खाता खोलिएको सामाजिक विकास कार्यालय जुम्लाको तथ्याङ्क छ ।

जुम्लाका आठै स्थानीय तहले छोरी सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेको सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागाँईले बताउनुभयो । उहाँका अनुसार छोरी सुरक्षा कार्यक्रममा कनकासुन्दरीका २ सय ३५ जना, हिमाका २ सय २ जना र तातोपानीका ३ सय १८ जना छोरीको खाता खोलिएको छ ।

त्यस्तै, गुठीचौरका २ सय २२ जना, तिलाका ३ सय ३५ जना, चन्दननाथका २ सय ९३ जना, सिञ्जाका ४ सय १५ जना र पातारासी गाउँपालिकाका २ सय सय ४५ जना गरी २ हजार २ सय ६५ जना छोरी सुरक्षा कार्यक्रममा समेटिएको प्रमुख चौलागाँईको भनाई छ ।

चन्दननाथमा अपेक्षित रुपमा छोरी सुरक्षा कार्यक्रममा लक्षित वर्ग नसमेटिएको उहाँको भनाई छ । खाता खोल्दा सुरुमा १ हजार र मासिक पाँच सयका दरले २० वर्षसम्म छोरीको खातामा जम्मा १ लाख २० हजार रकम जम्मा हुने छ । कार्यक्रममा समेटिए पनि २० वर्ष नपुग्दै विवाह गरेमा भने सेवा सुविधा पाइने छैन ।

पर्याप्त प्रचार प्रसार नहुनु, झन्झटिलो प्रक्रिया तथा पालिकाका कर्मचारीको ढिलासुस्तीले अधिकांश स्थानीय छोरी सुरक्षा कार्यक्रमबाट छुटेको सिञ्जाका स्थानीय जयशंकर धितालले बताउनुभयो । उहाँले आफु धेरै पटक छोरीको खाता खोल्न जाँदा पालिकाका कर्मचारीको ढिलासुस्तीले अहिलेसम्म खाता खोल्न नपाएको गुनासो गर्नुभयो ।

तीन वर्षसम्म २२ सय ६५ छोरी मात्रै कार्यक्रममा समेटिनु लक्ष्य अनुसार प्रभावकारी नभएको जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताउनुभयो । प्रचार प्रसारलाई जोड दिएर जन्मिएका सबै छोरीलाई कार्यक्रममा समेट्न बुढाले सुझाव दिनुभयो ।