१५ चैत्र २०८०, बिहीबार

दृष्टिविहीन नेत्रको कमाइको भरमा ८ जनाको परिवार

netra prasad 2 1024x461 1

कलिला छोराछोरी, डाँडै माथिको घाम जस्तै अवस्थाकी वृद्धा आमा, श्रवण शक्ति कम भएकी श्रीमती अनि आफैमा दृष्टिविहीन नेत्र प्रसाद श्रेष्ठ ।

सुन्दै मन कताकता बहकिएजस्तो, कुनै फिल्ममा देखाइएको कथाजस्तो अनि बाउ बाजेले नातिनातिना भुलाउन आफैँ रचेर सुनाएको व्यथाजस्तो । यो त वास्तविक कथा हो नेत्रको ।

खै कसरी सुरु गरौँ नेत्रको कथा उनीसँगै छैनन् संसार हेर्ने दुई नेत्र । पर्वत जिल्ला कुश्मा नगरपालिका–९ का उनी आँखा देख्दैनन् तर काम गराई आँखा देख्नेहरूको भन्दा कम छैन ।

नगरुन् पनि कसरी उनैमा आश्रित छन् २ छोरा, ३ छोरी, ७९ वर्षकी बुढी आमा अनि श्रीमती । ‘म १४ वर्षको हुँदा बुबा बित्नुभयो ।’ नेत्र भन्छन्,‘ बाबा बितेपछि आमाले अर्काको घरमा दैलो लिप्ने, घाँस काट्ने र मेलापात गरेर पाल्नुभयो, हुर्काउनुभयो ।

करिब १६ वर्षअघि बिहे गरेँ । अर्धाङ्गिनी पनि कान कम सुन्छिन्, तर छोरा छोरी सानै भएकाले उनी पनि काममा खासै जान्नन् ।’ नेत्र भन्छन् ‘जीवन यस्तै रहेछ, आज भन्दा भोलि, भोलि भन्दा पर्सि छोराछोरीको उमेर बढ्दो छ ।

netra prasad 1 1024x461 1

शारीरिक अवस्था यस्तो छ काममा नजाऊँ बिहान खाए बेलुका के खाने भनेर सोच्नुपर्छ । भनेर पत्याउनुहुन्न होला मेरो महिना भरिको कमाई जम्मा १ हजार रुपैयाँ पुग्छ होला । त्यही पनि सधैँ काम पाइँदैन । सेतो लट्ठीको भरमा गुजारा चलाउन विवश छु ।’

२०७२ सालको भूकम्पले घर भत्काइदियो, धेरै ठाउँमा हार गुहार गरे । ‘वडादेखि नगरपालिकासम्म कसैले सुनिदिएनन्, कसैले हेरेनन् मेरो परिवार र मलाई ।’ नेत्रका अनुसार त्यति धेरै थाहा पनि थिएन, भूकम्पमा चरचर चिरा परेको उनको घर भूकम्पको पुनर्निर्माणमा परेन । गाउँका हुनेखानेहरू सबैले भूकम्पको पैसा ल्याएर घर बनाए ।

‘नेताहरू कसैले हेरेनन्’ नेत्र भन्छन् ‘ढुङ्गा खोज्दा देउता पाए झैँ गरी एउटा बाबु भेटिनुभयो कुश्मा बजारमा । मेरो नालीबेली सबै सुनाए उहाँले नै कताबाट मिलाइ दिनुभयो कुन्नि ? ! टिन लगेर घामपानी छेक्ने बास बनाइदिनुभयो अहिले त्यसैको ओतमा छौँ ।’

पाँच सात हजारको जागिर खान पाए बाल बच्चालाई राम्रोसँग पढाउने उनको चाहना छ । दृष्टिविहीन भए पनि एसएलसीमा ६९.१३ प्रतिशत ल्याएका नेत्रले ब्याचलर सम्मको अध्ययन गरेका छन् ।

अपाङ्ग, अशक्त, एकल महिला लगायतलाई सरकारले विभिन्न श्रेणिमा छुट्टाएर भत्ताको पनि व्यवस्था गरेको छ । नेत्रका अनुसार उनी सँग ‘ख’ वर्गको प्रमाण पत्र छ । प्रमाण पत्रअनुसार उनले प्राप्त गर्ने मासिक भत्ता १६ सय रहेको छ । नेत्र भन्छन् ‘सरकारबाट १६ सय पाउँछु, महिना भरिमा ८० किलो चामल मेरो परिवारलाई चाहिन्छ । सरकारबाट पाएको पैसाले जम्मा २५ किलो आउँछ ।’

‘फेरी चुनाव आउँदै छ रे’ उनी भन्छन्, ‘भूकम्पका बेला एक पटक नचिहाउनेहरु अहिले बिहान बेलुका नै घरमा आउने गरेका छन् । चुनाव ५ बर्ष अगाडी पनि आएको थियो, हरेक पार्टीका नारा पनि थिए । चुनावपछि उनीहरूको अवस्था बदलियो तर खै म जस्ताको न टेक्ने लट्ठी बदलियो न मेरो परिवार नै ।’