१६ चैत्र २०८०, शुक्रबार

पर्वतमा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा

congress uml

प्रतिनिधिसभामा एक मात्र क्षेत्र रहेको पर्वतमा  पुरानै अनुहार चुनावी मैदानमा उत्रिएका छन् । २०७४ मा बाम गठबन्धनको बलमा निर्वाचित एमालेका पदम गिरी र ३ पटक काँग्रेसबाट निर्वाचित अर्जुन जोशी प्रतिस्पर्धामा छन् । दुवै पुरानो विरासत जोगाउने दाउमा छन् ।

पर्वतमा एक प्रतिनिधि सभा सिटका लागि १२ जना र २ प्रदेश सभाका लागि १५ उम्मेदवार मैदानमा छन् । तर मुख्य प्रतिस्पर्धा एमाले र सत्ता गठबन्धनका उम्मेदवारबिच नै देखिएको छ ।

गठबन्धनका तर्फबाट हाल उम्मेदवार रहेका काँग्रेसका अर्जुन जोशी २०५६, २०६४ र २०७० को निर्वाचनमा विजयी भएका थिए । तर २०७४ मा एमालेका पदम गिरीसँग फराकिलो मतान्तरले पराजित भए । यस पटक दुवै जना पुरानै साख फर्काउने कोसिसमा छन् । 

गत वैशाखको स्थानीय निवार्चनमा सात पालिकामध्ये ५ वटामा सत्ता गठबन्धनले प्रमुख जितेको छ । एमालेले ६१ वडामध्ये ३६ वडा जितेकाले गठबन्धनको तुलनामा आफू अघि रहेको दाबी गरेको छ । गठबन्धनले पनि यस पटक सहज अवस्था रहेको बताउने गरेको छ । 

अहिले पुरानै अनुहार पुरानै चुनावी एजेन्डासहित मतदातामाझ पुगिरहेका छन् । तर, सबै निकै फेरिएकोले उनीहरूको प्रतिस्पर्धा भने नयाँ हुनेछ ।