१३ बैशाख २०८१, बिहीबार

विदेशस्थित नियोग प्रमुखलाई रेमिट्यान्स र पर्यटन वृद्धिका लागि पहल गर्न अर्थमन्त्रीको निर्देशन

janardan sharma

रेमिट्यान्स र पर्यटन वृद्धिका लागि पहल गर्न विदेशस्थित नियोग प्रमुखलाई अर्थमन्त्रीले निर्देशन दिनुभएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले विदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन र नेपाल घुम्न जानुपर्ने विषयमा प्रवर्द्धनात्मक कार्यक्रम गरी विदेशी पर्यटकको सङ्ख्या बढाउनका लागि पहलकदमी लिन विदेशस्थित नियोग प्रमुखलाई निर्देशन दिनुभएको हो ।

दुई दर्जन भन्दा बढी राजदूत, कार्यवाहक राजदूत, महावाणिज्य दूत लगायत विभिन्न देशका नियोग प्रमुखहरूसँग आइतबार दिउँसो भएको भर्चुअल बैठकमा अर्थमन्त्री शर्माले विदेशी मुद्रा बढाउनुपर्ने र भुक्तानी सन्तुलन सकारात्मक बनाउनुपर्ने दबाबमा सरकार रहेकाले सबै पक्ष मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

‘हामीलाई यति बेला विदेशी मुद्राको संचिति बढाउनुपर्ने दबाब छ । यसका लागि तपाईँहरूले विशेष भूमिका खेल्नुपर्छ’ अर्थ मन्त्रीले भन्नुभयो । रेमिट्यान्सका माध्यमबाट पैसा पठाउन त्यहाँका नागरिकलाई प्रोत्साहन गर्न र नेपाल कोभिड १९ बाट तङ्ग्रिसकेको सन्देश दिँदै पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम गरी धेरै भन्दा धेरै पर्यटक नेपाल आउने वातावरण सृजना गर्न पनि अर्थ मन्त्रीले निर्देशन गर्नुभयो ।

चैत महिनामा ९१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको जानकारी दिँदै उहाँले यतिमा मात्रै सन्तुष्ट नभई अझै वृद्धिको खाँचो रहेकोले सरकारले रेमिट्यान्स बढाउनका लागि विभिन्न प्याकेज ल्याउन लागेको जानकारी दिनुभयो ।

अर्थ मन्त्री शर्माले रेमिट गर्नेहरूलाई आइपिओ र एफपिओमा निश्चित प्रतिशत नै छुट्टाएर लगानी गर्न दिनेसम्मका गृहकार्य भएको र त्यस सम्बन्धमा आगामी बजेटका लागि सुझाव लिन नियोग प्रमुखहरूसँग छलफल गर्नुभएको हो । छलफल परराष्ट्र मन्त्रालयमा गरिएको थियो ।

त्यस क्रममा अर्थमन्त्री शर्माले लगानी सम्मेलनहरू आयोजना गरी नेपालमा विदेशी लगानी बढाउने वातावरण सृजना गर्नुपर्ने पनि बताउनुभयो ।

कुन देशमा कस्तो बस्तुको माग रहेको र नेपालमा त्यसको उत्पादन हुन सक्ने भए सुझाव दिन पनि उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले अर्थतन्त्र दबाबमा रहेको र यसलाई बिस्तारै सुधार गर्ने दिशामा सरकार अघि बढेको बताउनुभयो ।

कार्यक्रममा कायममुकायम गभर्नर निलम ढुङ्गाना तिम्सिनाले अर्थतन्त्र दबाबमा भएकाले सबै मिलेर सुधार गर्नुपर्ने खाँचो रहेको औँल्याउनुभयो ।