१३ बैशाख २०८१, बिहीबार

गम्भीर संटकग्रस्त अवस्थामा तीनजना पूर्वअर्थमन्त्रीको नजरमा देशको अर्थतन्त्र ?

finance

तीन जना पूर्वअर्थमन्त्रीहरूले मुलुकको आर्थिक अवस्था गम्भीर संटकग्रस्त अवस्थामा पुगेको बताएका छन् । पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडाले मुलुक इतिहासकै गम्भीर आर्थिक संकटमा पुगेको बताएका हुन् । एमालेको तर्फबाट वर्तमान अर्थतन्त्रबारे आफ्नो धारणा राख्दै उनीहरूले यस्तो बताएका हुन् । उनीहरूले अर्थतन्त्र गम्भीर संकटमा पुगेको भन्दै यसलाई बचाउने जिम्मेवारी सबैको भएको बताए ।

एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमालेले सरकार छोड्दा अर्थतन्त्र सवल र सुदृढ अवस्थामा रहेको बताए । ‘केपी ओली नेतृत्वको सरकारको कार्यकाल कोभिड–१९ महामारी नियन्त्रणमा केन्द्रित हुनुपर्ने थियो,’ उनले भने, ‘स्वाभाविक रूपमा दुनियाँका शक्तिशाली अर्थतन्त्रलाई पनि चुनौती दिइरहेको थियो । हामीले पनि त्यो चुनौतीको सामना गर्नुपरेको थियो ।’

कोभिड महामारीको सामना गर्दागर्दै पनि ओली नेतृतवको सरकारले अर्थतन्त्रका परिसूचकहरूलाई बिग्रन नदिएर तुलनात्मक रूपमा सवल र सुदृढ अर्थतन्त्रको आधार निर्माण गर्न सकेको उनको भनाइ छ । पौडेलले वर्तमान सरकारका कारण अर्थतन्त्र इतिहासकै गम्भीर मोडमा पुगेको बताए । ‘यो सरकारले सहि नीति लिएर प्रभावकारी ढंगबाट अगाडि बढ्न चाहेको भए यो अवस्थामा आउने थिएन । आर्थिक अवस्था यस्तो हुने थिएन । पुरै अर्थतन्त्र ध्वस्त बनाइसक्यो । मुलुकलाई श्रीलंका बनाउने अवस्थामा पुगिसक्यो,’ पौडेलले भने ।

मुलुकको अर्थतन्त्र बचाउन हस्तक्षेपको खाँचो रहेको उनको भनाइ छ । पाँच दलीय गठबन्धनको सरकारले ध्वस्त पारेको अर्थतन्त्र बचाउन अब हस्तक्षेप गर्ने बेला आएको बताए । यसो नगरे मुलुकको अर्थतन्त्र डामाडोल हुने र नेपाल दोस्रो श्रीलङ्का हुनबाट कसैले बचाउन नसक्ने उनको भनाइ थियो ।

अघिल्लो सरकारले बजार महंगी ४ प्रतिशतभन्दा तल राखेको, विदेशी मुद्रा सञ्चिति साढे ११ महिनाभन्दा बढी समयको वस्तु तथा सेवा आयात धान्न पुग्ने करिब १४ अर्ब रुपैयाँ बराबरको छाडेर गएकोमा अहिलेको सरकारले यसलाई ध्वस्त पारेको बताए ।

कोभिड–१९ का बाबजुद पनि आफ्नो सरकारले झण्डै ७ प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्न सफल भएको उनको भनाइ थियो । लगानीको वातावरण बनाएको र बैंकिङ ब्याजदर एकल अंकमा राखेको बताए । तर, वर्तमान सरकारले यसलाई समेत ध्वस्त पारेर मुलुकको आर्थिक अवस्था इतिहासमा नै पहिलो पटक कमजोर बनाएको आरोप लगाए ।

वर्तमान सरकारले व्यापार घाटामा छलाङ मारेको बताए । अघिल्लो आर्थिक वर्षमा १०४ अर्बले मात्र रहेको चालु खाता घाटा यस वर्ष ह्वातै बढेर ४०० अर्ब पुगेको बताए । त्यस्तै रेमिट्यान्समा वैदेशिक रोजगारीमा जानेहरूको संख्या २५६.९ प्रतिशतले बढ्दा पनि उल्टो रेमिट्यान्स आप्रवाह ५ प्रतिशतले घटेको बताए । यसरी रेमिट्यान्स घट्नु शंकाको विषय बनेको बताए ।

त्यस्तै अर्का पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले त वर्तमान अर्थमन्त्री भाग्न सक्ने बताए । देशको अर्थतन्त्र गम्भीर संकटमा पुगेको भन्दै उनले अर्थमन्त्रालयको नेतृत्व गरिरहेका अर्थमन्त्री जनार्दन शर्मा भाग्न सक्ने बताएका हुन् । ‘श्रीलंकामा अर्थमन्त्री भाग्ने रे भन्ने सुन्दैछु । कतै यो दिन नआओस् नेपालमा,’ पाण्डेले भने ।

अर्थमन्त्री शर्माले कानुनविपरीत काम गरिरहेको भन्दै यसले उनलाई नै समस्या पर्ने बताए । अर्थमन्त्रीले विदेशबाट आएको रकम खुलाउन राष्ट्र बैंकका गर्भनरलाई पत्र लेखेको भन्दै पाण्डेले उक्त काम गैर कानुनी भएको बताए । ‘यदि एजेन्सी दह्रो हुने हो भने यही केसमा लगेर अर्थमन्त्रीलाई हाल्नुपर्ने हो भित्र, किन लेख्यौं पत्र भनेर यसो गर्न मिल्छ ? हामीले बनाएको ऐनभन्दा बाहिर गएर कसैले चल्न मिल्छ र ?,’ उनले भने ।

मुलुकको बिग्रँदो आर्थिक अवस्थाको उपज बजेट खर्च गर्न पनि पैसा नहुने अवस्था आइसकेको बताए । बढ्दो आयात, चालु खाता घाटा तथा घट्दो रेमिट्यान्सले पारेको विदेशी मुद्राको सञ्चितिको दबाबले अर्थतन्त्रमा संकट आउने त्रास देखिएको बताए । तर, उल्टै यसलाई रोक्न राष्ट्र बैंकले चालेको कदममा सरकार जाइलागेको बताए ।

३३ अर्ब रुपैयाँ बजेट बचतमा रहेको ठेकेदारले नै ५० अर्बभन्दा रूपैयाँ माग गरेको बताए । उनले देशको अर्थतन्त्र एकदमै संकटग्रस्त अवस्थामा पुगेको भन्दै यो बचाउनतिर सबै लाग्नुपर्नेमा जोड दिए ।

त्यस्तै पूर्व अर्थमन्त्री डा। युवराज खतिवडाले अहिले देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा परेको बताए । अहिले आर्थिक वृद्धिभन्दा पनि धरासायी हुने चिन्ता भइरहेको उनको भनाइ छ । ‘आठ महिनामा आठ खर्ब आयात भइसकेको छ । अब वर्षभरिमा २२ खर्बको आयात हुनेछ । दुई खर्ब निर्यात गर्दा पनि २० खर्ब व्यापार घाटा हुनेछ,’ खतिवडाले भने ।

वर्तमान सरकार संकट उन्मुख अर्थतन्त्र बचाउनेभन्दा पनि गठबन्धन जोगाउने काममा व्यस्त रहेको उनको भनाइ छ । अहिलेका अर्थमन्त्री अर्थतन्त्र जागाउने भन्दा पनि आफ्नो नालायकीपन प्रस्तुत गर्नतिर लागिरहेको उनको भनाइ छ । ‘अर्थमन्त्री फेर्नुपर्छ भन्ने हल्ला चलिरहेका बेला आफ्नो कमजोरी सार्वजनिक गर्ने गर्भनरलाई निशाना बनाए,’ खतिवडाले भने ।

सरकारकै कारण बैंकमा लगानीयोग्य पैसा नभएको बताए । बैंकमा लगानीयोग्य पैसा नहुनुको कारण सरकारको गैरकानुनी गतिविधि र गलत क्रियाकलाप रहेको बताए ।

‘सरकारका मन्त्रीहरू कमाउ धन्दामा लिप्त छन् । उनीहरू ठेक्कापट्टाको सेटिङमा लागेका छन् । मन्त्रीहरूले निर्वाचनका लागि खर्च चाहियो भनेर खुलमखुला हिँडिरहेका छन्,’ डा. खतिवडाले भने, ‘खाद्य वस्तुको असाध्यै धेरै मूल्य वृद्धि भएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सर्वसाधारणको जनजीवन कष्टकर भएको छ । चालु खर्च ८ प्रतिशतले बढ्ने देखिएको छ । यो अन्तर्राष्ट्रिय रूपमै अर्थतन्त्रमाथि खतराको घण्टी हो । त्यही खतराको संकेत हामीले गरिरहेका छौँ ।’

उनले सरकार नै सम्पत्ति शुद्धीकरणमा लागेका कारण बैकिङ प्रणालीबाट पैसा अन्त्यै गएको बताए ।