११ बैशाख २०८१, मंगलवार

प्रभाव कस्तो पर्ला ? सत्ता नेतृत्वकर्ताको रुपमा पेश गरेर निर्वाचनमा होमिएका दोस्रो पुस्ताका नेताहरुमा

second neta 2n leder

मुख्य दलका शीर्ष नेताले आफूलाई सत्ताको नेतृत्वकर्ताको रुपमा पेश गरेर चुनावमा होमिएका बेला तिनै दलका दोश्रो तहका नेताहरु संसदीय निर्वाचन जितेर पार्टीमा पनि थप बलियो बन्ने रणनीतिमा छन् ।

संसदको चुनाव जित्नसके पार्टीमा अबको नेतृत्व दावी गर्न थप बलपुग्ने उनीहरुको ठम्याई छ । संसदीय प्रतिस्पर्धा र जित-हारले मुख्य दलको दोश्रो तहलाई पार्टी राजनीतिमा कस्तो प्रभाव पर्ला ?

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत-१ मा नेकपा एमाले सहित ७ जनासँग प्रतिष्पर्धामा छन् । महामन्त्रीद्वय गगन थापा काठमाडौं- ४ र विश्वप्रकाश शर्मा झापा-१ बाट चुनावी मैदानमा छन्।

पार्टी सभापतिमा पराजित शेखर कोइराला मोरङ-६ बाट प्रतिस्पर्धी हुन् । यी चारैजना कांग्रेसको आगामी नेतृत्वका आकांक्षी मध्येकै हुन् । उनीहरुलाई सदनमा उपस्थित हुनु र नहुनुले पार्टी राजनीतिमा प्रभाव पार्न सक्छ ।

नेकपा एमालेको विधान अनुसार अहिलेका अध्यक्ष र वरिष्ठ उपाध्यक्ष नेतृत्वबाट बाहिरिने छन्। त्यसपछिका मुख्य दाबेदार महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल हुन्। पोखरेल दाङ-२ तथा पौडेल रुपन्देही-२ बाट चुनावी मैदानमा छन् ।

उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वी सुब्वा गुरुङसमेत पार्टीको उपल्लो तहमा पुग्ने दाउमा छन् । ज्ञवाली गुल्मी- १ र गुरुङ लमजुङबाट उमेदवार छन । संसदमा पछि परे उनीहरुको पार्टी धरातल कमजोर हुने जोखिम हुन्छ ।

माओवादी केन्द्रको भावी नेतृत्वका रुपमा हेरिएका मध्ये महासचिव देव गुरुङ लमजुङ, उपमहासचिवत्रय बर्षमान पुन रोल्पा, जर्नादन शर्मा रुकुम र पम्फा भुसाल ललितपुर- ३ की उम्मेदवार हुन् ।

नेकपा एकीकृत समाजवादीमा उपाध्यक्ष राजेन्द्र पाण्डे धादिङ- १, उपमहासचिवद्वय प्रकाश ज्वाला सल्यान र जगन्नाथ खतिवडा उदयपुर- २ तथा सचिव रामकुमारी झाँक्री, गुल्मी- २ बाट उम्मेदवार छन् । यि मध्ये चुनाव जित्ने नेता पार्टीमा थप प्रभावशाली बन्न सक्छन् ।

राप्रपाका उपाध्यक्षद्वय रविन्द्र मिश्र काठमाडौं-१ र विक्रम पाण्डे चितवन-३ बाट तथा महामन्त्रीद्वय धवलशमशेर राणा बाँके-२ बाट र कुन्ती शाही दैलेख-१ बाट चुनावी प्रतिस्पर्धामा छन् ।

मधेश केन्द्रीत जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई सुनसरी-१, कार्यकारिणी सदस्यद्वय राजकिशोर यादव २ बाट र राजेन्द्र श्रेष्ठ काठमाडौं-७ बाट प्रतिनिधि सभामा उठेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लगायतका दलमा पनि दोश्रो तहका र आगामी नेतृत्वका आकांक्षी चुनावमा छन् ।

चुनावमा होमिएका मुख्य दलका दोश्रो पुस्ताका अधिकांश नेताले यो निर्वाचनलाई राजनीति नेतृत्वमा पुग्ने आधार समेत बनाउन खोजेको देखिन्छ ।