१४ बैशाख २०८१, शुक्रबार

सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने तयारी

devendra poudel
फाइल फोटो

सरकारले सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सात वटै प्रदेशहरुमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव क्याविनेटमा पेश गरिएको जानकारी दिनु भएको हो ।

उहाँले खर्बौ रकम मेडिकल शिक्षा अध्ययनका लागि बाहिरिएको अवस्थालाई मध्यनजर गर्दै सरकारले सबै प्रदेशमा मेडिकल कलेज बनाउने तयारी गर्नु परेको पनि स्पष्ट पार्नुभयो ।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जापान, अष्ट्रेलिया, बंगलादेश, चीन र भारतमा मेडिकल शिक्षा पढन जाने विद्यार्थीहरुले बार्षिक रुपमा करिव १ खर्ब ९७ अर्ब खर्च गरेको देखेपछि त्यसको समिक्षा गरेर सरकारले नेपालमै सो शिक्षा अध्ययनका लागि सरकारी मेडिकल कलेजहरुको स्थापना गरेर अघि बढने निष्कर्ष निकालेको पनि स्मरण गराउनुभयो । तर सरकारले निजी क्षेत्रको मेडिकल कलेजलाई पनि सँगै लिएर जाने नीति लिएको मन्त्री पौडेलको भनाइ छ ।

मन्त्री पौडेलले निजी क्षेत्रको मेडिकल कलेजलाई विस्थापन गर्ने सरकारको कुनै योजना नरहेको पनि पटकपटक दोहोर्याउनुभयो ।

मन्त्री पौडेले सिटिईभिटीलाई पनि सबै स्थानीय तहसम्म पुर्याउने कामलाई तत्काल अघि बढाउने निर्णय गरिएको बताउनुभयो । अहिले तत्काल प्रदेशहरुमा को स्थापना गर्ने र त्यसपछि लगत्तै सबै स्थानीय तहहरुमा सिटिईभिटीहरु पुर्याउने सरकारको योजना रहेको उहाँको भनाइ थियो ।

मन्त्री पौडेलले सरकारले शिक्षालाई रोजगारमूलक बनाउने गरी विद्यालय तहको शिक्षादेखि उच्च शिक्षासम्मको नीतिलाई परिमार्जन गर्ने कामलाई अघि बढाएको पनि बताउनुभयो ।