१४ बैशाख २०८१, शुक्रबार

अहिलेको गठबन्धन सरकार कुहिएर झर्ने अध्यक्ष ओलीको टिप्पणी

kp oli pokhara
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार रहिरहे देश बर्बादीतिर धकेलिने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनमा अध्यक्ष ओलीले अहिले देशमा लगानीको कुनै सम्भावना नरहेको दाबी गर्नुभयो । उहाँले बैंकसँग पनि लगानीका लागि दिने पैसा नभएकाले देश संकटमा रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले गठबन्धन सरकार कुहिएर झर्ने बताउनुभयो । उहाँले सरकार ढाल्न आफुहरुले कोशिस नगर्ने स्पष्ट पार्नुभयो । एमालेले सरकारमा नभई चुनावमा ध्यान दिइरहेको उहाँले बताउनुभयो ।

‘यो सरकार तुरुन्तै तुरन्तै तुरुन्तै ढल्नुपर्छ । ढलेन भने जतिदिन रहन्छ त्यति बढी देशलाई बर्बादीतिर धकेल्छ,’ ओलीले भनुभयो, ‘प्रहरी भाइहरूले झुक्किएर ताली हान्नु होला नि फेरि ! देश बनाउन त सबैलाई पनि परेको छ । जीविका चलाउनु परेको छ । कसैले ताली बजाउन मिल्छ कसैले मिल्दैन ।’

ओलीले वर्तमान सत्ता गठबन्धन कुहिएर झर्न लागेको फलजस्तो अवस्थामा पुगेको टिप्पणी गरे । ‘अहिलेको गठबन्धन सरकार कुहिएको फल जस्तो भएको छ, मज्जाले केही हुँदैछ र झर्ने बेलातर्फ जाँदैछ,’ ओलीले भने, ‘कसैले पनि मर्न लागेको मान्छेलाई पनि प्वाक्क हानेर मर्‍यो भने उही कानून लाग्छ । यो सरकार ढाल्न हामी कोसिस गर्दैनौँ, कुहिएर खत्रक्क झरोस् ।’

अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनसम्म गतिका साथ पार्टी काममा खट्न नेता, कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।