१४ बैशाख २०८१, शुक्रबार

निकै सफल र उपलब्धिमूलक प्रधानमन्त्री देउवाको भारत भ्रमण भएकाे नेपाल तथा भारतका उद्योगी व्यवसायीकाे दाबी

deuba modi

प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने भारत भ्रमणलाई नेपाल तथा भारतका निजी क्षेत्रका उद्योगी व्यवसायीले निकै सफल र उपलब्धिमूलक भएको दाबी गरेका छन् ।

विगत केही वर्षदेखि उच्च राजनीतिकस्तरमा संवाद हुन नसक्दा दुई छिमेकी मुलुकबीच व्यापारिक क्षेत्रमासमेत अनेक समस्या र कठिनाइ रहेका अवस्थामा प्रधानमन्त्रीको भारत भ्रमणले आपसी विश्वास अभिवृद्धि गर्न तथा विद्युत्, यातायातलगायतका क्षेत्रमा भएका महत्वपूर्ण सम्झौताले आगामी दिनमा नेपालको आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुग्ने उनीहरुको बिश्वास रहेको छ ।

साथै यसले नेपालमा भारतीय लगानी बढाउन र भारततर्फ निर्यात सहजीकरणका लागि दुवै देशका सरकारलाई मार्गप्रशस्तसमेत गरेको छ । आफ्नो भारत भ्रमणको सिलसिलामा भारतीय व्यापारिक समुदायसँगको अन्तक्र्रियामा प्रधानमन्त्री देउवाले नेपालमा लगानीको वातावरण सहज भएकाले ऊर्जा, पूर्वाधार, पर्यटनजस्ता क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्ता, उद्योगी एवं व्यवसायीसँग आग्रह गर्नुभएको थियो ।

नेपाल र भारतबीचको पारस्परिक ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउन तथा दुईपक्षीय आर्थिक सहयोगका विषयमा छलफल गर्न आफू भारत भ्रमणमा आएको प्रधानमन्त्रीले बताउनुभयो । आफ्नो यो भ्रमणबाट नेपाल–भारत सम्बन्धले थप उचाइ हासिल गर्ने बिश्वास पनि प्रधानमन्त्रीले व्यक्त गर्नुभयो ।

नेपालको बृहत्तर आर्थिक सामाजिक विकासलाई केन्द्रमा राखेर समुन्नत राष्ट्रको मार्गचित्र कोर्ने दिशामा सबै नेपाली पुनःएकपटक जुट्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्री देउवाले देशको विकासका निजी क्षेत्रलाई आह्वान गर्नुभयो ।

कन्फिडरेसन अफ इन्डियन इन्डिष्टिज (सिआइआइ) ले आयोजना गरेको उक्त कार्यक्रममा भ्रमण दलमा सहभागी नेपाल उद्योग वाणिज्य महासङ्घ अध्यक्ष शेखर गोल्छाले जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधिलगायतका सेवा क्षेत्रमा भारतीय लगानीको प्रशस्त सम्भावना रहेको उल्लेख गर्नुभयो ।

उहाँले पछिल्ला वर्षमा भारतीय लगानी घटिरहेका सन्दर्भमा यसलाई बढाउन नेपाली निजी क्षेत्रले सहजीकरण गर्ने बताउनुभयो । नेपालमा लगानी गरेका बहुर्राष्ट्रिय कम्पनीले राम्रो मुनाफा आर्जन गरिरहेको पनि उहाँले बताउनुभयो ।

सिआइआइका अध्यक्ष टिभी नरेन्द्रनले केही समय नेपाल आन्तरिक द्वन्द्व, राजनीतिक अस्थिरता, विद्युत् अभाव जस्ता समस्याबाट गुज्रिएको र पहिल्लो दुई वर्ष कोभिड सङ्क्रमणले पनि लगानीको वातावरण बन्न नसकेका अवस्थामा अब यो अवस्था नरहेको उल्लेख गर्दै नेपाल भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको बताउनुभयो ।

उहाँले नेपालका प्रधानमन्त्रीको भारत भ्रमणले राजनीतिक सौहार्दता अभिवृद्धि गरेको उल्लेख गर्दै उहाँले यसले नेपालमा लगानी बढाउन भारतीय व्यवसायीलाई उत्साही तुल्याएको छ भन्नुभयो । अध्यक्ष नरेन्द्रनले नेपाल भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको र नेपालमा लगानी बढाउन सहजीकरण गर्ने बताएका थिए । सिआइआइको ऊर्जा संयन्त्र नेपालमा लगानी बढाउन सहकार्य गर्ने पनि बताउँदै उहाँले कृषिजन्य वस्तुको निर्यातमा गुणस्तरीयता कायम गर्न पनि भारतले सहयोग गर्नसक्ने स्पष्ट गर्नुभयो।

कार्यक्रममा करिब ३० वटा भारतीय बहुर्राष्ट्रिय कम्पनीको सहभागिता रहेको थियो भने विभिन्न करिब १५ कम्पनीका प्रमुख कार्यकारी अधिकृतले नेपालमा लगानीको सम्भावनाबारे चासो र अनुभव प्रस्तुत गर्नुभएको थियो । उहाँहरुले सूचना प्रविधि, पूर्वाधार, जलविद्युत्जस्ता ठूला परियोजनामा लगानीको अवसर रहेको बताउँदै जग्गा अधिकरण, भन्सार प्रक्रियामा सरलीकरण, रुख कटानलगायतका केही समस्या रहेको भन्दै त्यसलाई पनि व्यवस्थित र एकद्वार प्रणालीअनुसार कार्यान्वयन गर्न सकिएमा भारतका लगानीकर्ता अझ उत्साही हुने धारणा राख्नुभएको थियो ।

महासङ्घ र सिआइआइका पदाधिकारीबीचको छलफलमा लगानीमा सहकार्य विस्तार, संयुक्त परियोजनाको कार्यान्वयन, नेपाल–भारत लगानी एवं व्यापार सहजीकरणका विषयमा भारतीय लगानीकर्ताले चासो राखेका थिए ।

भ्रमण दलमा संलग्न महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले भारतले नेपालको आर्थिक, सामाजिक र राजनीतिकलगायत सबै क्षेत्रमा निरन्तर महत्वपूर्ण सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गर्दै मोदीको भिजनरी नेतृत्वबाट भारतले गरिरहेको प्रगतिबाट नेपालले पनि लाभ लिनसक्ने बताउनुभयो । 

उहाँले कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्य सहकार्यविना समृद्ध नहुने हुँदा देशभित्रै लगानीको वातावरण निर्माण हुनसकेमा भारतको लगानी आकर्षित गर्न सजिलो हुने बताउनुभयो । नेपालमा पर्यटन क्षेत्रमा सम्भावना बढ्दै गएको बताउँदै अबको दुई वर्षमा अहिलेको पर्यटन पूर्वाधारले नपुग्ने र सरकारी नीतिका कारण यस क्षेत्रमा लगानी सहज भएको पनि ढकालले बताउनुभयो ।

विगत ४०/५० वर्षदेखि जलविद्युत् नेपालको आर्थिक विकासको मेरुदण्ड हुन्छ भन्दै गरे पनि त्यसको प्रतिफल आउन नसकिरहेका अवस्थामा प्रधानमन्त्रीको यस भ्रमणले खासगरी जलविद्युत् क्षेत्रमा ब्रेक थ्रु नै गरेको जलविद्युत् व्यवसायी ज्ञानेन्दलाल प्रधान बताउनुहुन्छ । पहिले हामीले भारतबाट मात्रै विद्युत् खरिद गरिरहेको अवस्थामा अब भारतले पनि नेपालबाट विद्युत् खरिद गर्न जसरी उत्साह देखाएको छ, त्यसले ठूला जलविद्युत् आयोजनाको निर्माण गरी भारतलगायत छिमेकी मुलुकमा ऊर्जा व्यापार गर्न सकिने सम्भावनालाई कार्यान्वयनमा ल्याउन सकिने भएको छ उहाँको ठम्याइ छ ।

नेपाल भारतको छिमेकी र परम्परागत सम्बन्ध रहँदै आएको मुलुक मात्र नभएर नवाैं ठूलो निर्यात गन्तव्य मुलुक पनि हो । नेपालले पनि भारतमा निर्यात बढाउन खोजिरहेको भारतीय व्यवसायीको भनाइ थियो । नेपालको भारततर्पm र तेस्रो मुलुकको निर्यातमा भारतले सहजीकरण गरिदिनुपर्नेमा उनीहले जोड थियो । नाकामा पूर्वाधार सुधार र गैरभन्सार अवरोध हटाउनुपर्ने तथा कृषिजन्य उत्पादनको निर्यातका लागि समान गुणस्तरको ल्याब स्थापना गरी एक अर्काको देशमा मान्यता दिनुपर्नेमा छलफल भएको थियो । भारतसँग नेपालको बढ्दो व्यापार घाटा चिन्ताको विषय हो । नेपाली निजी क्षेत्रअन्तर्गत आइसिडी, आइसिपीजस्ता पूर्वाधारको व्यवस्थापन आवश्यक हुन्छन् । व्यापार र पारवहन सन्धिमा ढुवानीलाई समावेश गर्नुपर्दछ । नेपालले विशाखापट्टनम बन्दरगाहलाई अनुकूलतमरूपमा प्रयोग गर्नुपर्छ।

कोभिड–१९ महामारी सुरु भएपछि हुन लागेको पहलो उच्चस्तरीय भ्रमणका क्रममा नेपालले विभिन्न परियोजना कार्यान्वयनमा पनि जोड दिनुपर्ने नेपाली उद्योगी जाजु समूहका अध्यक्ष महेश जाजुको जोड रहेको छ । नेपालको विकासका लागि पूर्वाधार विकास, पर्यटन, जलस्रोतसहित विभिन्न क्षेत्रमा भारतीय लगानीको आवश्यकता रहेको हुँदा आर्थिक मुद्दा द्विपक्षीय वार्ताको केन्द्रमा रहेकाले आगामी दिनमा सकारात्मक परिणाम निस्कने उहाँको भनाइ छ ।

“हाम्रो व्यापारको असन्तुलन घटाउनका निम्ति हाम्रा वस्तुको निर्यातका लागि भारतले सहयोग गर्नुपर्छ”, जाजुले भन्नुभयो । प्रधानमन्त्रीको भ्रमणका क्रममा आर्थिक साझेदारी, व्यापार तथा पारवहन कनेक्टिभिटी, ऊर्जा र जलस्रोतमा केन्द्रित रहेर सम्बन्धमा भएको प्रगतिको समीक्षा भएको छ । पछिल्लो एक दुई वर्षमा भारतको व्यापार निकै बढेको छ । नेपालले पनि उत्तिकै फाइदा लिनुपर्छ । नेपालले भारतमा उपलब्ध आर्थिक र व्यापारिक अवसरलाई व्यापकरूपमा उपयोग गरी आफ्नो उत्पादक क्षमता, अपर्याप्त पूर्वाधार, कम प्रत्यक्ष वैदेशिक लगानी, आसन्न समस्यालाई सम्बोधन गर्न प्रभावकारी संस्थागत संयन्त्रको निर्माण गर्नसकेमा आगामी दिनमा दुई देशको आर्थिक सम्बन्ध अझ फराकिलो बन्दै जाने देखिन्छ ।