१७ बैशाख २०८१, सोमबार

बजार अनुगमन गर्न ७७ वटै जिल्ला प्रशासनलाई सरकारको निर्देशन

Balkrishna khad 1
फाइल फोटो

सरकारले बजार अनुगमन गर्न सबै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ ।

सरकारले पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीहरूलाई निर्देशन दिएको हो ।

गृहमन्त्री बालकृष्ण खाणले अत्यावश्यक बस्तुमा मूल्यवृद्धि नगर्न, बिक्री वितरण नरोक्न र पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन निर्देशन दिनुभएको हो । मन्त्री खाणले गृहलगायत सरोकारवाला मन्त्रालयका सचिवलाई निर्देशन दिनुभएको हो । त्यसै अनुरुप गृहले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर पठाउँदै प्रतिवेदन पठाउन निर्देशन दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले व्यवसायीका समस्या भएमा सरकार संवादमार्फत् समाधान गर्न तयार रहेको तर समस्या देखाएर अभाव सिर्जना गरिएमा कानुन अनुसार कारबाहीका लागि अगाडि बढ्न सरकार बाध्य हुने बताउनुभएको छ ।

दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि भएको गुनासो बढेपछि गृह मन्त्रालयले आइतबारबाटै ७७ जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमन समितिमार्फत् अनुगमन गरी प्रतिवेदन पठाउन निर्देशन दिएको छ।

गृह प्रवक्ता पोखरेलका अनुसार जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने अनुगमन समितिले मूल्य बढे÷नबढेको, दैनिक उपभोग्य वस्तु अभाव भए नभएको अनुगमन गरेर सबै जिल्लाले मन्त्रालयमा रिपोर्ट पठाउने छन्।

त्यस्तै, मन्त्रालयले उद्योग वाणिज्य संघको समन्वयमा बजारमा उपभोग्य वस्तुको आपूर्ति, सहजता र मूल्यवृद्धि नियन्त्रणलगायत विषयमा अनुगमन गर्न र विकृति देखिएमा प्रचलित कानुन अनुरुप सजाय गर्न समेत निर्देशन दिएको छ।