४ बैशाख २०८१, मंगलवार

उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्री आङ्बोको आग्रह

indra

प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले सहकारीहरूलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

६५ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा झापा जिल्ला सहकारी सङ्घले आयोजना गरेको सहकारी सम्मेलनको उद्घाटन गर्दै मन्त्री आङ्बोले त्यस्तो आग्रह गर्नुभएको हो ।

झापाको बिर्तामोडमा दुई दिनसम्म सञ्चालन हुने सम्मेलनका प्रमुख अतिथि मन्त्री आङ्बोले नेपालको अर्थतन्त्रमा सहकारीको योगदान उल्लेख्य रहेको चर्चा गर्दै बढ्दो व्यापार घाटा कम गर्न, कम्तीमा खाद्यान्नमा भए पनि आत्मनिर्भर बन्न सहकारीले उत्पादनमूलक क्षेत्रमा अधिकतम लगानी गर्नुपर्ने बताउनुभयो ।

उहाँले कोभिड १९ को प्रभाव र रुस–युक्रेन युद्धको असर नेपाली अर्थतन्त्रमा देखा परेको बताउँदै विदेशी मुद्रा सञ्चितिका उपायहरू खोज्नुपर्ने बताउनुभयो ।

अहिले बैङ्क तथा वित्तीय क्षेत्रमा तरलता अभाव भएको अवस्थामा वाणिज्य बैङ्कहरूले लगानी गर्न नसकिरहेको बेला सहकारीहरूले थोरै–थोरै भए पनि लगानी गरेर सदस्यहरूको समस्या समाधानमा महत्त्वपूर्ण योगदान पुत्याएको बताउँदै मन्त्री आङ्बोले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा सहकारी महत्त्वपूर्ण माध्यम हुने उल्लेख गर्नुभयो ।

भोलिसम्म चल्ने सम्मेलनमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, केन्द्रीय कृषि सहकारी संघका लेखा संयोजक महेश्वर सुवेदी, नेफस्कूनका पूर्व कोषाध्यक्ष केशव पोखरेल, नेफस्कूनका पूर्व कोषाध्यक्ष कुबेर निरौला, अस्ट्रेलियाका लागि पूर्व राजदूत महेशराज दाहाल लगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको झापा जिल्ला सहकारी संघका सहसचिव कृष्णप्रसाद मिश्रले जानकारी दिनुभयो ।